भोटेकोशी बाढीपीडितका लागि राखिएको राहत खाद्य सामग्रीको अनुगमन, एक प्याकेट म्याद गुज्रिएको आटा भेटियो

  • कालिका खवर
  • सोमवार, भदौ २२, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरेको छ।

    विभागका अनुसार २०८३ भदौ २० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंसहितको संयुक्त अनुगमन टोलीले काठमाडौंका दुई स्थानमा राहत सामग्रीको निरीक्षण गरेको हो।

    अनुगमनका क्रममा राधा स्वामी सत्सङ्ग, सामाखुसीमा तयारी चाउचाउ, बिस्कुट, दालमोठ, चक्की आटा, हुलास पिठो, ताइचिन चिउरा, सोयाबिन मस्यौरा, मुसुरो दाल, सातु, सोयाबिन तेल, भुजा तथा प्याकेजिङ गरिएको प्रशोधित पिउने पानीलगायतका सामग्री राहतका लागि पठाउन तयारी अवस्थामा रहेको भेटिएको विभागले जनाएको छ।

    अनुगमन गरिएका अधिकांश खाद्य सामग्रीको लेबलमा ब्याच नम्बर, उत्पादन/प्याकेजिङ गर्ने उद्योगको नाम तथा ठेगाना उल्लेख भएको र उपभोग्य मिति ननाघेको पाइएको थियो। तर तिरुपती बालाजी फ्लोर मिल बाराबाट उत्पादित ‘महालक्ष्मी’ ब्रान्डको ५ किलोको एक प्याकेट चक्की आटा उपभोग्य मिति समाप्त भएको अवस्थामा फेला परेको विभागले जनाएको छ।

    म्याद गुज्रिएको उक्त आटाको प्याकेट अस्वीकार गरी छुट्टै ‘एक्सपायर्ड जोन’मा राखिएको छ। थप सोधपुछ गर्दा उक्त सामग्रीको बिक्रेता तथा स्रोतसमेत पत्ता नलागेको विभागले उल्लेख गरेको छ।

    त्यस्तै, शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहलमा राखिएको राहत सामग्रीको समेत अनुगमन गरिएको थियो। त्यहाँ चामल, बिस्कुट, चिउरा, सोयाबिन, ग्लुकोज–डी, नमकिन, दाल, सूर्यमुखी तेल, सोयाबडी, चाउचाउ तथा प्रशोधित पिउने पानीलगायतका सामग्री राहतका लागि पठाउने तयारीमा रहेको पाइएको थियो।

    उक्त स्थानमा रहेका सबै खाद्य सामग्रीको लेबल, ब्याच नम्बर, उत्पादन/प्याकेजिङ गर्ने उद्योगको विवरण तथा उपभोग्य मिति सन्तोषजनक रहेको विभागले जनाएको छ।

    विभागले राहत खाद्य सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन निर्देशन दिएको छ। अनुगमनबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक कारबाही गरिएको विभागले जनाएको छ।

    विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माद्वारा २०८३ भदौ २२ गते जारी विवरणअनुसार राहत सामग्री राखिएका कुल दुई स्थानको अनुगमन गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar