पोखराका दुई विद्यालय क्यान्टिनमा खाद्य स्वच्छता अनुगमन, सुधार गर्न निर्देशन

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले पोखरा महानगरपालिका–९ स्थित दुई विद्यालयका क्यान्टिनमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अनुगमन गरी आवश्यक सुधारका लागि निर्देशन दिएको छ।

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम भदौ १६ गते गरिएको अनुगमनका क्रममा नवप्रभात माध्यमिक विद्यालय क्यान्टिन र महेन्द्र माध्यमिक विद्यालय क्यान्टिनमा सरसफाइ तथा खाद्य व्यवस्थापनसम्बन्धी विभिन्न कमजोरी भेटिएको कार्यालयले जनाएको छ।

    नवप्रभात माध्यमिक विद्यालय क्यान्टिनमा फ्राइङ तेलको टीपीएम भ्यालु १८ रहेको र मापदण्डअनुकूल पाइए पनि भान्साको सरसफाइ सन्तोषजनक नरहेको अनुगमनबाट देखिएको छ। त्यस्तै, पकाउनुपर्ने खानेकुरामा कृत्रिम खाद्य रंग प्रयोग गरिएको, फोहोरदानी खुला राखिएको तथा पत्रपत्रिका र मसी लागेको कागज खाद्य पदार्थको प्रत्यक्ष सम्पर्कमा आउने गरी प्रयोग गरिएको पाइएको छ।

    कार्यालयले उक्त क्यान्टिनलाई भान्सा व्यवस्थित र सफा राख्न, पकाउनुपर्ने खानेकुरामा कृत्रिम रंग प्रयोग नगर्न तथा खाद्य पदार्थसँग प्रत्यक्ष सम्पर्क हुने गरी पत्रपत्रिका, मसी लागेको कागज वा कार्टुन प्रयोग नगर्न निर्देशन दिएको छ। साथै ढकनी भएको फोहोरदानी प्रयोग गर्न, भाँडा माझ्ने स्थान व्यवस्थित गर्न तथा कामदारले एप्रोन, हेयरनेट, मास्क र आवश्यकताअनुसार पञ्जा प्रयोग गर्न भनिएको छ।

    त्यसैगरी महेन्द्र माध्यमिक विद्यालय क्यान्टिनमा पनि भान्साको सरसफाइ अव्यवस्थित रहेको, पकाउनुपर्ने खाद्य पदार्थमा कृत्रिम रंग प्रयोग गरिएको तथा खुला फोहोरदानी प्रयोग भएको पाइएको छ। झ्यालढोकामा जालीको व्यवस्था नभएको र फ्रिजको व्यवस्थापनसमेत अव्यवस्थित रहेको अनुगमन विवरणमा उल्लेख छ।

    कार्यालयले उक्त क्यान्टिनलाई तयारी खाद्य पदार्थ ढाकेर राख्न, फ्रिज व्यवस्थित गर्न, कृत्रिम खाद्य रंग प्रयोग नगर्न तथा खाद्य स्वच्छताका सबै नियम पालना गर्न निर्देशन दिएको छ। अनुगमनका क्रममा करिब ३०० रुपैयाँ बराबरको खाद्य पदार्थ नष्ट गरिएको समेत जनाइएको छ।

    वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माद्वारा जारी विवरणमा विद्यालयका क्यान्टिनहरूले विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar