काठमाडौंका दुई खाद्य व्यवसायमा अनुगमन, सरसफाइ र भण्डारण सुधार्न निर्देशन

  • कालिका खवर
  • बुधबार, भदौ १७, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौंका दुई खाद्य व्यवसायमा आकस्मिक अनुगमन गरी सरसफाइ, कीट नियन्त्रण तथा भण्डारण व्यवस्थापन सुधार्न निर्देशन दिएको छ।

    विभागले काठमाडौं महानगरपालिकासहितको बजार अनुगमन टोलीमार्फत २०८३ भदौ १६ गते काठमाडौं महानगरपालिका–१ स्थित कृष्ण बेकरी एण्ड कन्फेक्सनरी र काठमाडौं महानगरपालिका–२८ स्थित संयोग ब्वाइज होस्टेलमा निरीक्षण गरेको हो।

    कृष्ण बेकरी एण्ड कन्फेक्सनरीमा बेकरीजन्य खाद्य पदार्थमा ढुसी भेटिएको भन्ने गुनासो आएपछि अनुगमन गरिएको थियो। निरीक्षणका क्रममा खाद्य पदार्थको भण्डारण व्यवस्था सन्तोषजनक नपाइएको तथा उद्योगभित्र केही मरेका कीराको उचित व्यवस्थापन नभएको पाइएको विभागले जनाएको छ।

    उक्त व्यवसायलाई खाद्य स्वच्छता कायम गर्न, आवश्यक अनुमतिपत्र लिएर मात्र खाद्य पदार्थ उत्पादन गर्न तथा कीट नियन्त्रण र भण्डारण व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ। यस विषयमा थप अनुसन्धान तथा कारबाही काठमाडौं महानगरपालिकाले अगाडि बढाउने जनाइएको छ।

    त्यस्तै, संयोग ब्वाइज होस्टेलको भान्सामा गरिएको निरीक्षणका क्रममा कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नपाइएको, एक्सहस्टको उचित व्यवस्था नभएको, व्यक्तिगत सरसफाइमा कमजोरी रहेको तथा भुइँ र भित्ताको सरसफाइमा कमी पाइएको विभागले जनाएको छ।

    होस्टेललाई सरसफाइमा विशेष ध्यान दिन, कीट नियन्त्रणलाई प्रभावकारी बनाउन, एक्सहस्टको व्यवस्था गर्न तथा भुइँ र भित्ताको नियमित सफाइ गर्न निर्देशन दिइएको छ।

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आकस्मिक ‘र्‍यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत गरिएको अनुगमनमा कुल दुई खाद्य व्यवसायको निरीक्षण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar