बाढीपीडितको उद्धार र राहतका लागि सुनचाँदी रत्न तथा आभूषण महासंघको ‘एक व्यवसायी, एक हजार अभियान’

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौँ। देशका विभिन्न भूभागमा आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूका लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले राहत तथा उद्धार अभियान सुरु गरेको छ। विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै महासंघले बाढीपीडितको सहयोगका लागि ‘एक व्यवसायी, एक हजार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो।

    महासंघका महासचिव निर बहादुर विश्वकर्माका अनुसार भदौ १५ गते बसेको आकस्मिक अनलाइन बैठकले एकद्वार प्रणालीमार्फत राहत तथा उद्धार कार्य सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानलाई प्रभावकारी बनाउन महासंघका पदाधिकारीहरूबाट न्यूनतम २५ हजार रुपैयाँ र केन्द्रीय कार्यसमिति सदस्यहरूबाट न्यूनतम १० हजार रुपैयाँ संकलन गरिनेछ भने देशभरका आम व्यवसायीहरूलाई ‘एक व्यवसायी, एक हजार’ अभियानमा जोडिन आह्वान गरिएको छ।

    महासंघले सातै प्रदेशका अध्यक्ष तथा सम्बद्ध संघ-संस्थाहरूलाई आर्थिक सहयोग संकलनका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेको छ। राहत कोषमा योगदान गर्न चाहने व्यवसायीहरूले सिटीजन इन्टरनेसनल बैंक, न्यूरोड शाखामा रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको खाता नम्बर ००७०१०००००३२१२०१ मा रकम जम्मा गर्न सक्नेछन्।

    मानवीय र सामाजिक दायित्व सम्झिँदै यस विषम परिस्थितिमा विपन्न तथा प्रभावित नागरिकहरूको घाउमा मलम लगाउन महासंघले आफ्ना सम्पूर्ण सदस्यहरूलाई स्वतःस्फूर्त रूपमा हातेमालो गर्न अपिल गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar