बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनामा एमालेको विशेष समिति परिचालित

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि नेकपा (एमाले)ले गठन गरेको ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ परिचालित भएको छ।

    नेकपा (एमाले)ले भदौ १५ गते पार्टीका सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो। समितिमा रहेका सदस्यहरूलाई प्रभावित जिल्लामा समन्वय गर्ने गरी कार्यविभाजनसमेत गरिएको पार्टीले जनाएको छ।

    सोही कार्यविभाजनअनुसार नुवाकोट जिल्ला संयोजकको जिम्मेवारी पाएका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रुपनारायण श्रेष्ठको नेतृत्वमा युथ भोलेण्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठलगायतको टोली आवश्यक खाद्य सामग्रीसहित नुवाकोट प्रस्थान गरेको छ। टोलीले भोटेकोशी विपद्बाट प्रभावित नागरिकलाई निःशुल्क खाना उपलब्ध गराउने तयारी गरेको छ।

    यसैगरी, रसुवा जिल्लाका लागि संयोजक तोकिनुभएका पार्टीका केन्द्रीय सदस्य तथा जिफण्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा अर्को टोली त्यसतर्फ परिचालन हुने तयारीमा रहेको छ। धादिङ र चितवन जिल्लाको संयोजन जिम्मेवारीमा रहनुभएका बागमती प्रदेश कमिटीका उपसचिव रमेश आचार्यको नेतृत्वमा रहेको टोली पनि प्रभावित क्षेत्रमा जाने तयारी भइरहेको बताइएको छ।

    समितिको कार्यविभाजनअनुसार सबै टोलीमा पार्टीका जनसङ्गठन, प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिचालन गरिने व्यवस्था गरिएको छ। पार्टीका सचिव तथा बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समितिका संयोजक महेश बस्नेतले नुवाकोटमा खटिएको टोलीलाई पार्टीको केन्द्रीय कार्यालय च्यासल, ललितपुरबाट विदाइ गरेका छन्।

    बस्नेतका अनुसार राहत सामग्री वितरणको काम प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन तथा पीडितहरूसँगको समन्वयमा गरिनेछ। प्रभावित क्षेत्रमा पीडितलाई तत्काल खाना खुवाउन टोलीले फुड स्टेशन समेत सञ्चालन गर्ने तयारी गरेको छ।

    नेकपा (एमाले)ले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

    राष्ट्रिय युवा संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), युथ भोलेण्टियर फोर्स, जिफण्टलगायत नेकपा (एमाले)का विभिन्न जनसङ्गठन तथा स्थानीय पार्टी कमिटीहरू भने भदौ १० गतेदेखि नै प्रभावित जिल्ला तथा क्षेत्रमा उद्धार र राहत वितरणका लागि परिचालित हुँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar