रसुवामा रवि किरण हमालको खबरदारी : ‘उद्धारमा ढिलाइ नगरौँ, अन्तर्राष्ट्रिय सहयोग र उच्च प्रविधि तत्काल ल्याऔँ’

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • रसुवा । बाढी गएको दिनदेखि नै प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धार कार्यमा सक्रिय जेनजी अभियन्ता रवि किरण हमालले रसुवाको विपद् व्यवस्थापनलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। उनले तत्काल उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने र स्वास्थ्य सुरक्षा तथा विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि समेत योजनाबद्ध कदम चाल्नुपर्ने बताएका छन्।

    स्थानीय मेनाल्ड लामिछाने र उनका साथी सचिनसहित खाद्यान्न तथा केही मेडिकल सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका हमालले स्थलगत अवस्थाको अवलोकन गर्दै उद्धारका लागि आवश्यक उपकरण तथा प्रविधि पर्याप्त नभएको बताएका हुन्।

    उद्धार कार्यमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उनले टनेलभित्र, खोलाको आसपास तथा विकट स्थानमा फसेका नागरिकको उद्धारका लागि आवश्यक परे तत्काल अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने बताएका छन्। अत्याधुनिक प्रविधिसहितका आवश्यक उपकरण तत्काल परिचालन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

    विपद्बाट भएको वास्तविक क्षतिको यकिन विवरण अझै स्पष्ट हुन नसकेको उल्लेख गर्दै हमालले ठूलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन वा हराइरहेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। खोज तथा उद्धार कार्यलाई अझ व्यापक र तीव्र बनाउन राज्यका सबै उपलब्ध संयन्त्र परिचालन गर्नुपर्ने उनको भनाइ छ।

    हमालले बाढी तथा पहिरोमा ज्यान गुमाएका नागरिक तथा जनावरका शवको तत्काल व्यवस्थापन गर्नुपर्नेमा समेत जोड दिएका छन्। लामो समयसम्म शव तथा मृत जनावर व्यवस्थापन हुन नसके स्वास्थ्य संकट थप गम्भीर बन्न सक्ने र संक्रामक रोग फैलिने जोखिम रहने भन्दै उनले सम्बन्धित निकायलाई तत्काल सक्रिय हुन आग्रह गरेका छन्।

    त्यस्तै, राहत सामग्रीको प्रभावकारी व्यवस्थापन गरी स्थानीय सरकार, स्थानीय नागरिक, स्वयंसेवक तथा सामाजिक संघसंस्थालाई समेत समन्वयात्मक रूपमा परिचालन गर्नुपर्ने उनको सुझाव छ। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत तथा उद्धार सामग्री पुर्‍याउन स्थानीय तहलाई थप स्रोत, जनशक्ति र अधिकारसहित सक्रिय बनाउनुपर्ने उनले बताएका छन्।

    तत्कालीन उद्धार र राहतसँगै बाढीका कारण विस्थापित भएका नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि बृहत्तर र योजनाबद्ध कार्यक्रम अघि बढाउनुपर्नेमा पनि हमालले जोड दिएका छन्। घर, पूर्वाधार र जीविकोपार्जन गुमाएका परिवारलाई तत्कालीन राहतमा मात्र सीमित नराखी आवास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवासहितको समग्र पुनःस्थापना योजना बनाउनुपर्ने उनको भनाइ छ।

    प्रभावित नागरिकसँगको संवादका क्रममा सरकारप्रति विभिन्न गुनासा आएको हमालले बताएका छन्। विशेषगरी सूचना प्रवाहमा कमजोरी तथा राहत–उद्धारमा अपनाइएको एकद्वार प्रणालीका कारण आवश्यक सहयोग समयमै नागरिकसम्म पुग्न नसकेको गुनासो स्थानीयवासीले गरेको उनले जानकारी दिए।

    साथै, सरकारका तर्फबाट भएका केही गतिविधिप्रति धार्मिक तथा सामाजिक मूल्य–मान्यतासँग सम्बन्धित असन्तुष्टि समेत नागरिकले व्यक्त गरेको उनको भनाइ छ।

    हमालले आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग तत्काल स्वीकार गरी अत्याधुनिक उद्धार प्रविधि भित्र्याउन, हराइरहेका नागरिकको खोजी तीव्र बनाउन, शव तथा मृत जनावरको व्यवस्थापन गर्न र प्रभावित क्षेत्रमा स्वास्थ्य संकट फैलिन नदिन विशेष संयन्त्र परिचालन गर्न सरकारसँग आग्रह गरेका छन्।

    उनले आफ्नो टोली प्रभावित नागरिकसँग निरन्तर संवादमा रहने र तत्काल राहतसँगै विस्थापित परिवारको पुनःस्थापना तथा दीर्घकालीन सहयोगका लागि योजनाबद्ध रूपमा काम गर्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar