निमित्त कार्यालय प्रमुख काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौँ : रौतहटको परोहा नगरपालिका-९ स्थित राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास कार्यालय, गौरका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्लेसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले काफ्ले, इन्जिनियर सुदिप प्रकाश तिमल्सेना र इन्जिनियर नितिश कुमार पटेल तथा अधुरो शिवनाथ भवन, भैरवनाथ मन्दिर र राधाकृष्ण मन्दिरको अधुरो निर्माण कार्य योजनाको उपभोक्ता समितिका अध्यक्ष खहेरू साह तेली र कोषाध्यक्ष कुन्ती देवीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

    आयोगका अनुसार आर्थिक वर्ष २०८१–८२ मा पर्यटन विकास कार्यालय, गौरबाट उक्त क्षेत्रमा विभिन्न संरचना निर्माणका लागि ५० लाख ६६ हजार ९७५ रुपैयाँको लागत अनुमान स्वीकृत गरी उपभोक्ता समितिमार्फत निर्माण कार्य अघि बढाइएको थियो।

    निर्माण सम्पन्न भएपछि गरिएको स्थलगत नापजाँच र प्राविधिक परीक्षणका क्रममा फिल्डमा वास्तविक रूपमा भएको कामभन्दा बढी परिमाण नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदनमा समावेश गरिएको पाइएको आयोगले जनाएको छ। त्यसरी वास्तविक निर्माणभन्दा बढी काम भएको देखाएर ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बढी भुक्तानी भएको आयोगको अनुसन्धानबाट खुलेको छ।

    आयोगले कार्यालयका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा फिल्डमा नभएको कामसमेत सम्पन्न भएको देखाई नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरिएको आरोप लगाएको छ। गलत विवरणका आधारमा बिल तथा भरपाई तयार गरी भुक्तानी लिने–दिने कार्यबाट सार्वजनिक निकायलाई आर्थिक क्षति पुगेको आयोगको दाबी छ।

    काफ्ले, तिमल्सेना र पटेलविरुद्ध ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) अन्तर्गत कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको छ। उनीहरूविरुद्ध गलत प्रतिवेदन तयार गरेको कसुरमा ऐनको दफा १९(२) बमोजिम थप सजायको मागसमेत गरिएको आयोगले जनाएको छ।

    उपभोक्ता समितिका अध्यक्ष तेली र कोषाध्यक्ष देवीलाई भने मुख्य कसुरदारबाट भएको गैरकानुनी लाभ लिने कार्यमा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ। उनीहरूविरुद्ध पनि सोही बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar