रसुवा बाढीप्रति चीनको गहिरो दुःख, ३३ अर्वभन्दा बढी सहयोग हस्तान्तरण

  • कालिका खवर
  • आइतवार, भदौ १४, २०८३
  • काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीबाट नेपालले भोगेको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। चीनका राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले विपत्तिको यस घडीमा नेपाल एक्लै नरहेको र चीन सधैँ नेपाल तथा नेपाली जनताको साथमा रहने सन्देश दिएका छन्।

    प्रधानमन्त्री राहत कोषका लागि चीन सरकारले घोषणा गरेको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश नेपाल सरकारसमक्ष सुनाएका हुन्।

    राजदूत माओमिङका अनुसार राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले बाढीका कारण ज्यान गुमाएका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

    “यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ,” राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत माओमिङले नेपालमा विपत्तिपछिको उद्धार तथा राहत कार्यमा चीन सरकारले निरन्तर सहयोग जारी राख्ने बताए।

    सो अवसरमा चिनियाँ राजदूत माओमिङले चीन सरकारको तर्फबाट झन्डै साढे ३० करोड रुपैयाँ बराबरको २० लाख अमेरिकी डलर अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरे। त्यस्तै, चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबरको २ लाख अमेरिकी डलर नगद सहयोग पनि हस्तान्तरण गरिएको छ।

    राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल विपत्तिका कारण नेपाल र चीन दुवै प्रभावित भएको उल्लेख गर्दै यस संकटको सामना दुवै देशले मिलेर गर्ने बताए। उनले चीन सरकारले घोषणा गरेका अन्य सहायता सामग्री पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए।

    राजदूतका अनुसार आज मात्रै दुईवटा चिनियाँ जहाजमार्फत करिब ५० टन सहायता सामग्री काठमाडौँ ल्याइएको छ। ती सामग्रीमा टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट तथा बिस्कुटलगायत राहत सामग्री रहेका छन्। चीनले आगामी दिनमा थप सहायता सामग्री तथा सहयोग निरन्तर उपलब्ध गराउने पनि उनले बताए।

    यसैबीच, रसुवाको बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरोला नाका हुँदै नेपाल फर्काउन पहल भइरहेको जानकारी पनि राजदूत माओमिङले अर्थमन्त्रीलाई दिएका छन्।

    त्यस्तै, जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष उद्धार टोली नेपाल आइसकेको र थप प्राविधिक जनशक्ति पनि नेपाल आइपुगेको उनले जानकारी दिए।

    नेपाल सरकारले उद्धार कार्यका लागि माग गरेको ठूलो परिमाणमा सामग्री बोक्न सक्ने क्षमतायुक्त ड्रोन नेपाल पठाउन चीन सरकारले तीव्र गतिमा काम गरिरहेको पनि राजदूत माओमिङले बताएका छन्।

    रसुवा बाढीपछिको उद्धार, राहत तथा पुनर्स्थापनामा चीनले देखाएको सक्रिय सहयोगले नेपाल–चीनबीचको मित्रता र विपत्तिको समयमा एकअर्काप्रतिको सहकार्यलाई थप बलियो बनाएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar