रास्वपाको क्याण्डिडेट क्लबको तयारीमा थिए पक्राउ परेका रास्वपा नेता कार्की

  • कालिका खवर
  • आइतवार, भदौ १४, २०८३
  • काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता भगवान कार्की राहत कोषमा रकम जम्मा गरेको भन्दै नक्कली कागजात सार्वजनिक गरेको आरोपमा प्रहरीको फन्दामा परेका छन्।

    रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका कार्की गाउँपालिका कार्यसमितिका सहसचिवसमेत हुन्। उनी आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपाको ‘क्याण्डिडेट क्लब’मा समेत सहभागी भएको बताइएको छ।

    कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ लाख २० हजार रुपैयाँ जम्मा गरेको दाबी गर्दै बैंक स्टेटमेन्ट, क्यूआर र भौचर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। तर, उनले गरेको दाबीप्रति शंका लागेपछि चिनजानका व्यक्तिहरूले प्रहरीलाई जानकारी गराएका थिए।

    रास्वपाकै केही कार्यकर्ताले कार्कीले व्यक्तिगत रूपमा उक्त रकम जम्मा गरेको विषयमा शंका व्यक्त गरेपछि प्रहरीसम्म सूचना पुगेको बताइएको छ। त्यसपछि जिल्ला प्रहरी कार्यालय रामेछापले घटनाबारे अनुसन्धान अघि बढाउँदै ठोसे प्रहरी चौकीलाई समेत जानकारी गराएको थियो।

    प्रहरीले कार्कीलाई शनिबार राति नियन्त्रणमा लिएर सदरमुकाम मन्थली ल्याएको बताइएको छ। गोकुलगंगा–२ का वडाध्यक्ष सुन्दर कार्कीका अनुसार कार्की गाउँमा खेतीकिसानी गर्दै आएका व्यक्ति हुन्।

    वडाध्यक्षका अनुसार कार्कीले राहत कोषमा ठूलो रकम व्यक्तिगत रूपमा जम्मा गरेको दाबी गरेपछि स्थानीयस्तरमा पनि प्रश्न उठेको थियो। उनले सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गरेपछि सुरुमा पार्टीको तर्फबाट रकम सहयोग गरिएको हुनसक्ने ठानेर आफूहरूले खासै चासो नदिएको बताए।

    घटनाबारे रास्वपा रामेछापका सभापति रमेश रायमाझीले पार्टीले आन्तरिक रूपमा बुझिरहेको बताएका छन्। कार्कीबाट गलत काम भएको पुष्टि भए पार्टीले अनुशासनसम्बन्धी कारबाही गर्ने उनले बताए।

    स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरिरहेका कार्की पक्राउ परेपछि उनको राजनीतिक यात्रामाथि समेत प्रश्न उठेको छ। प्रहरीले भने सार्वजनिक गरिएका कागजात तथा राहत कोषमा रकम जम्मा गरेको दाबीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar