विपत्तिमा चौधरी ग्रुप र नबिल बैंकको १५ करोडको प्याकेज : राहतदेखि ५०० अस्थायी घर निर्माणसम्म

  • कालिका खवर
  • आइतवार, भदौ १४, २०८३
  • काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १५ करोड रुपैयाँ बराबरको बहुचरणीय सहयोग कार्यक्रम घोषणा गरेका छन्।

    चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नेदेखि सुरक्षित आवास, दीर्घकालीन पुनर्स्थापना तथा जनस्वास्थ्य पूर्वाधार निर्माणसम्मका कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

    कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, खानेपानी, तयार खाना, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्री तथा आवश्यक स्वास्थ्य र खोप सामग्री उपलब्ध गराइनेछ। फाउन्डेसन र बैंकका अनुसार राहत सामग्री वितरण भदौ ११ गतेदेखि सुरु भइसकेको छ।

    नुवाकोट र रसुवामा राहत शिविर

    राहत तथा पुनर्स्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा राहत शिविर स्थापना गरिने भएको छ।

    स्थानीय प्रशासनसँगको समन्वयमा सञ्चालन हुने ती शिविरमार्फत प्रभावित परिवारलाई दैनिक भोजनसहित आवश्यक आधारभूत सुविधा उपलब्ध गराइने जनाइएको छ।

    त्यस्तै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिनेछ। स्वास्थ्य शिविरमार्फत प्राथमिक स्वास्थ्य सेवा, रोग रोकथामसम्बन्धी सेवा तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराइनेछ।

    बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी तथा सरसफाइका आवश्यक सुविधा उपलब्ध गराउने योजना पनि कार्यक्रमअन्तर्गत समेटिएको छ।

    ५०० वटा अस्थायी आवास निर्माण गरिने

    बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ।

    सरकार तथा स्थानीय सरकारसँगको सहकार्यमा निर्माण गरिने यी आवासले स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बसोबास उपलब्ध गराउने उद्देश्य राखिएको छ।

    अस्थायी आवास निर्माणमा नेपालमा भूकम्पपीडितको राहत तथा पुनर्स्थापनाका क्रममा चौधरी फाउन्डेसनले प्रयोग गरेको प्रमाणित प्रविधि प्रयोग गरिने जनाइएको छ।

    फाउन्डेसन र बैंकले अस्थायी आवाससँगै प्रभावित समुदायमा आवश्यकताअनुसार स्थायी आवास तथा सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने योजना बनाएका छन्।

    संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना

    राहत र पुनर्निर्माणलाई तत्कालीन आवश्यकतामा मात्र सीमित नराखी दीर्घकालीन जनस्वास्थ्य तयारीलाई समेत कार्यक्रमको महत्वपूर्ण हिस्सा बनाइएको छ।

    यसअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गरिने भएको छ।

    उक्त केन्द्रले रोगको निगरानी तथा पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा बाढी लगायतका विपद्पछि फैलिन सक्ने संक्रामक रोगको प्रभावकारी व्यवस्थापनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    चौधरी फाउन्डेसन र नबिल बैंकका कर्मचारीहरू राहत वितरण तथा प्रभावित क्षेत्रमा आवश्यक सहयोगका लागि स्थानीयस्तरमै परिचालित भइसकेका छन्।

    सरकारसँग समन्वय गरेर कार्यक्रम अघि बढाइने

    फाउन्डेसन र बैंकले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग निकट समन्वयमा राहत तथा पुनर्स्थापनाको काम अघि बढाउने बताएका छन्।

    सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म राहत र सहायता पारदर्शी, प्रभावकारी र व्यवस्थित रूपमा पुर्‍याउने उद्देश्य रहेको उनीहरूको भनाइ छ।

    चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले आपत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना सुनिश्चित गर्नु आवश्यक रहेको बताएका छन्।

    उनले भने, “हाम्रो तत्कालीन प्राथमिकता जीवनको रक्षा गर्नु र प्रभावित परिवारलाई खाना, आवास, स्वास्थ्य सेवा तथा सम्मान सुनिश्चित गर्नु हो। तर हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनु हुँदैन।”

    उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको यात्रामा चौधरी फाउन्डेसन र नबिल बैंक प्रतिबद्ध रहेको उनले बताए।

    बाढी प्रभावित नागरिकको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले देखाएको सक्रियता र समन्वयप्रति फाउन्डेसन र बैंकले आभारसमेत व्यक्त गरेका छन्।

    चौधरी ग्रुपले प्रभावित नागरिकको जीवनरक्षा, राहत तथा पुनर्स्थापनाका लागि सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्दै घोषित १५ करोड रुपैयाँको बहुचरणीय कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar