केरुङ बाढी त्रासदीपछि काठमाडौंमा मुख्यालय रहने ‘हिमाली सहकार्य संगठन’ स्थापना गर्न सुझाव

  • कालिका खवर
  • बिहिबार, भदौ ११, २०८३
  • काठमाडौं / शांघाई । फुदान विश्वविद्यालयका प्रोफेसर डा. झाङ जियाडोङले रसुवा–चीन (तिब्बत) सीमावर्ती केरुङ (ग्यिरोङ) क्षेत्रमा हालै आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट उत्पन्न नयाँ जोखिमलाई उजागर गरेको बताएका छन्। उनले हिमालय क्षेत्रका देशहरूबीच व्यापक सहकार्यका लागि काठमाडौंमा मुख्यालय रहने गरी औपचारिक ‘हिमाली सहकार्य संगठन’ स्थापना गर्न सुझाव दिएका छन्।

    फुदान विश्वविद्यालयस्थित सेन्टर फर साउथ एसियन स्टडीजका निर्देशक, बीआरआई स्ट्राटेजी एण्ड इन्टरनेसनल सेक्युरिटीका डिन तथा सेन्टर फर अमेरिकन स्टडीजका वरिष्ठ अनुसन्धानकर्ता समेत रहेका प्रोफेसर झाङले हाल कायम रहेका अन्तर्राष्ट्रिय सहकार्य संयन्त्र र विपद् पूर्वसूचना प्रणालीहरू समयअनुकूल नभएको बताएका छन्।

    केरुङ बाढी विपद्बारे आफ्नो धारणा राख्दै उनले भने, “केरुङ (ग्यिरोङ) को बाढीले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परिवर्तनहरू भइरहेका छन् भन्ने स्पष्ट पारेको छ। हालका अन्तर्राष्ट्रिय सहकार्य संयन्त्र र विपद् पूर्वसूचना प्रणालीहरू पुराना भइसकेका छन् र प्राकृतिक विपद् व्यवस्थापनका आवश्यकताहरू सम्बोधन गर्न अपर्याप्त छन्।”

    उनका अनुसार उक्त त्रासदी प्राकृतिक घटना भए पनि यसले अन्तर्राष्ट्रिय सहकार्यको कमी तथा विपद् पूर्वसूचना क्षमतामा रहेका कमजोरीहरूलाई उजागर गरेको छ।

    प्रोफेसर झाङले चीन र नेपाल दुवै देशमा हिमनदी र हिमतालसम्बन्धी विभिन्न अनुसन्धान भइरहे पनि ती प्रयासहरू पर्याप्त रूपमा समन्वयित हुन नसकेको उल्लेख गरे। विपद्का समयमा चिनियाँ अनुसन्धान टोली घटनास्थल नजिकैको हिमताल क्षेत्रमा अनुसन्धान गरिरहेको जानकारी दिँदै उनले छरिएका अनुसन्धानलाई व्यवस्थित र एकीकृत बनाउनुपर्ने आवश्यकता औंल्याए।

    उनले वर्तमान समयमा खोजी तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने र त्यसपछि प्रभावित क्षेत्रको पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। तर भविष्यमा यस्ता विपद् न्यूनीकरणका लागि चीन, नेपाल, भारत तथा हिमालय क्षेत्रका अन्य देशहरूबीच गहन र संस्थागत सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

    विशेष गरी विपद् पूर्वसूचना प्रणाली, संयुक्त पारिस्थितिक–जलवैज्ञानिक अनुसन्धान र भूगर्भीय तथ्याङ्क आदानप्रदान जस्ता क्षेत्रमा क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्ने उनले जोड दिए।

    एक अध्येताको हैसियतले प्रोफेसर झाङले चीन, नेपाल, भारत र अन्य देशहरूको सहभागितामा सरकार, विभिन्न संघसंस्था, गैरसरकारी संस्था तथा सम्बन्धित उद्योग क्षेत्रलाई समेटेर औपचारिक ‘हिमाली सहकार्य संगठन’ स्थापना गर्न प्रस्ताव गरेका छन्।

    उनका अनुसार उक्त संगठनले जलवैज्ञानिक सहकार्य, भूगर्भीय सहकार्य, स्रोत विकास, राजनीतिक तथा सांस्कृतिक सहकार्यलगायतका विषयलाई समेट्नुपर्नेछ। क्षेत्रबाहिरका अन्य देशहरूको सहभागितालाई समेत स्वागत गर्नुपर्ने उनको सुझाव छ।

    “यस संगठनको मुख्यालय काठमाडौंमा हुनुपर्छ,” उनले सुझाव दिएका छन्।

    प्रोफेसर झाङले विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिलाई केवल दुःखद घटनाका रूपमा सीमित नराखी भविष्यका लागि प्रणालीगत समाधान निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

    उनले भने, “विपद् दयाहीन हुन्छ, तर मानवीय संवेदना सर्वोपरि हुन्छ। हामीले यी मानिसहरूको ज्यान व्यर्थै जान दिनु हुँदैन। हामीले धनजनको क्षतिलाई एक प्रणालीगत समाधानको सुरुवातमा बदल्नुपर्छ।”

    केरुङ बाढी त्रासदीले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमसँग जुध्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता थप स्पष्ट बनाएको उनको निष्कर्ष छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar