चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

  • कालिका खवर
  • शनिबार, भदौ ६, २०८३
  • काठमाडौँ : बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यु भएको छ । गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका छन् । ती घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्बाट उक्त अवधिमा छ हजार २७२ परिवार प्रभावित भएका छन् । यस अवधिमा सबैभन्दा बढी आगलागीका एक हजार १३६ घटना भएका छन् । यसैगरी, पहिरोका एक हजार ११, सर्पदंशका एक हजार १०, हावाहुरीका ४८०, चट्याङका २४५, बाढीका २७३ र भारी वर्षाका ३२० घटना भएका छन् ।

    प्राधिकरणका अनुसार भदौ ५ गते बिहान ११ः०० बजेसम्म अद्यावधिक भएको विवरणमा जनावरको आक्रमणका २७२, लेक लाग्ने ५९, हिमपहिरोका दुई, डुङ्गा पल्टिने एक, वन डढेलोका १९१, विस्फोटनको एक, असिनाका चार र भूकम्पका चार घटना भएका उल्लेख छ ।

    यही भदौ ४ देखि ५ गते बिहान ८ः०० बजेसम्मको विवरणअनुसार देशका विभिन्न भागमा ३३ विपद्का घटना भएका छन् । ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने १४५ जना प्रभावित भएका छन् । प्राधिकरणले त्यस अवधिमा विपद्का कारण अनुमानित रु नौ लाख ७२ हजार बराबरको क्षति भएको तथा दुई स्थानमा सडक अवरुद्ध भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar