जापानमा शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

  • कालिका खवर
  • बिहिबार, साउन १४, २०८३
  • टोकियो । जापानको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कुमामोतो प्रिफेक्चरमा मङ्गलवार गएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । स्थानीय अधिकारीहरूले बिहीबार मृत्युको पुष्टि गरेका हुन् ।

    भूकम्पका कारण घर, विद्युत् प्रसारण लाइन तथा अन्य संरचनामा व्यापक क्षति पुगेको छ । उद्धारकर्मीहरू अझै भग्नावशेषमा फसेका सम्भावित जीवित व्यक्तिहरूको खोजीमा खटिएका छन् । सबैभन्दा ठुलो क्षति कासिमास्थित एइअन शपिङ मलमा भएको छ, जहाँ दोस्रो तलाको एक भाग भत्किँदा धेरै मानिस पुरिएका थिए ।

    भूकम्प गएको करिब एक घण्टापछि सोही मलमा शक्तिशाली विस्फोट पनि भएको थियो । मलका अध्यक्षका अनुसार यो ग्यास विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ, तर वास्तविक कारणको अनुसन्धान जारी छ ।

    भूकम्पपछि करिब ९ हजार मानिस अस्थायी उद्धार केन्द्रमा बसिरहेका छन् भने ३० हजारभन्दा बढी घरधुरी अझै विद्युत् सेवाविहीन छन् ।  यसैबिच, कुमामोतो क्षेत्रमा आगामी केही दिन तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएकाले उद्धारकर्मी र विस्थापितलाई हिटस्ट्रोकबाट बच्न पर्याप्त पानी पिउन र सावधानी अपनाउन आग्रह गरिएको छ ।

    जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले बुधबार ३०० वटा एयर कन्डिसनर कुमामोतो पठाइएको घोषणा गरेका छन् । जसमा १५० वटा उद्धार केन्द्रमा जडान गरिनेछ ।

    भूकम्पपछि हालसम्म सयभन्दा बढी पराकम्प रेकर्ड गरिएका छन् । थप कम्पनको डरले धेरै स्थानीय बासिन्दा आफ्नै गाडीमा रात बिताइरहेका छन् ।

    उद्धार टोलीले यात्सुशिरो शहरस्थित निप्पोन पेपरको कारखानामा पनि खोजी जारी राखेको छ । कारखानाको एक भाग भत्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । ११ जना फसेकामध्ये ७ जनाको सकुशल उद्धार गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar