टोरन्टोको मुटुमा २० वर्षको ऐतिहासिक यात्रा: नाथन फिलिप्स स्क्वायरमा १८औँ हिमालयन मेलाको भव्य तयारी

  • कालिका खवर
  • बिहिबार, असार ३२, २०८३
  • टोरन्टो, क्यानडा  ।  क्यानडाकै प्रतिष्ठित र मुख्य केन्द्र मानिने टोरन्टो शहरको ‘नाथन फिलिप्स स्क्वायर’ आगामी अगस्ट ८ तारिखका दिन नेपालमय बन्ने भएको छ। नेप्लीज क्यानेडियन कम्युनिटी सर्भिसेज (NCCS) को आयोजनामा हुन गइरहेको १८औँ वार्षिक ‘हिमालयन मेला’ ले क्यानडामा नेपाली कला, संस्कृति र पहिचानलाई स्थापित गरेको २० वर्षको गौरवमय यात्रालाई समेत उत्सवको रूपमा मनाउँदैछ।

    विगत दुई दशकदेखि टोरन्टो शहरको मुटुमा निरन्तर आयोजना हुँदै आएको यस मेलामा यस वर्ष १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहने अनुमान गरिएको छ। मेलामा स्थानीय विभिन्न जातीय समुदायहरू, बहुसांस्कृतिक समूहहरू तथा क्यानडाका उच्च पदस्थ विशिष्ट अतिथिहरूको विशेष उपस्थिति रहनेछ।
    प्रमुख आकर्षण: प्रकाश सपूतको प्रस्तुति र रैथाने स्वाद
    हिमालयन मेलाको स्टेजमा अहिलेसम्म नेपालका सायदै कुनै नाम चलेका कलाकार होलान् जसले आफ्नो प्रस्तुति नदिएका हुन्। यही विरासतलाई निरन्तरता दिँदै यस वर्ष बहुचर्चित एवं लोकप्रिय नेपाली गायक प्रकाश सपूत मुख्य आकर्षणका रूपमा प्रस्तुत हुँदैछन्। यसका साथै मेलामा परम्परागत नेपाली सांस्कृतिक नृत्यहरू, स्वादिष्ट नेपाली रैथाने खानाका स्टलहरू तथा विभिन्न व्यापारिक एवं सामुदायिक प्रदर्शनीहरू रहनेछन्।

    सङ्गठनको नयाँ गति र नेतृत्वको प्रशंसा
    विगत केही वर्षयता NCCS को संरचना र कार्यक्रमहरूको दायरा व्यापक रूपमा परिवर्तन हुनुमा यसका इभेन्ट कोअर्डिनेटर तथा वर्तमान अध्यक्ष सुदर्शन सापकोटाको ठूलो योगदान रहेको समुदायका सदस्यहरू बताउँछन्। विगत ५ वर्षदेखि संस्थामा निरन्तर सक्रिय रहँदै संस्थाको नेतृत्व सम्हालेका सापकोटाले NCCS को ‘डाइनामिक्स’ नै बदलिदिएका छन्। उनको कार्यकालमा संस्था केवल सांस्कृतिक कार्यक्रममा मात्र सीमित नभई क्यानडा आउने नयाँ नेपालीहरूलाई सहयोग गर्ने, ज्येष्ठ नागरिकहरूको हितका लागि काम गर्ने र विभिन्न सामाजिक सेवाका कार्यहरूमा अहोरात्र खटिने एक बलियो खम्बाको रूपमा स्थापित भएको छ।

    ऐतिहासिक गौरव: अप्रिल महिना ‘नेपाली हेरिटेज मन्थ’
    यस वर्षको हिमालयन मेला नेपाली समुदायका लागि अझ बढी ऐतिहासिक र गौरवपूर्ण छ। हालै गत अप्रिल महिनामा टोरन्टो सिटी हलले एउटा ऐतिहासिक प्रस्ताव पारित गर्दै ‘अप्रिल’ महिनालाई आधिकारिक रूपमा ‘नेपाली हेरिटेज मन्थ’ (नेपाली सांस्कृतिक सम्पदा महिना) घोषणा गरेको छ। क्यानडाको विकास र यहाँको बहुसांस्कृतिक समाजमा नेपाली समुदायले पुर्‍याएको योगदानको यो एक उच्च सम्मान हो।

    भौगोलिक रूपमा नेपालबाट हजारौँ माइल टाढा रहे पनि ‘१८औँ हिमालयन मेला’ ले क्यानडामा रहेका हरेक नेपालीको मुटुमा नेपाल सधैँ धड्किरहेको छ भन्ने सन्देश दिने स्पष्ट छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar