पीएमडब्लुएस सिजन ३ को उपाधि ट्रेन्ड्स टु किललाई, रु. ५० हजार पुरस्कार

  • कालिका खवर
  • बुधबार, असार ३, २०८३
  • काठमाडौं । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन (पीएमडब्लुएस) सिजन ३ को उपाधि ट्रेन्ड्स टु किल (टीटुके) ले जितेको छ। ललितपुरको कुपण्डोलस्थित मा शनिबार र आइतबार सम्पन्न प्रतियोगितामा टीटुकेले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो।

    टीटुकेले १० खेलमा दुई वटा ‘विनर विनर चिकेन डिनर’ सहित कुल ११३ अंक जोड्दै उपाधि आफ्नो नाममा लेखायो। विजेता टोलीले ट्रफीसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ।

    प्रतियोगितामा द फोर इलिमेन्ट्स (टीफोरई) १०४ अंकसहित उपविजेता बन्यो। तीन वटा ‘चिकेन डिनर’ जितेको टोलीले नगद २० हजार रुपैयाँ प्राप्त गर्यो। त्यसैगरी, जेरो फियर ई–स्पोर्ट्स (जेडएफ) ले ९७ अंकसहित तेस्रो स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँ हात पार्यो।

    प्रतियोगितामा विभिन्न छनोट चरणबाट आएका १६ टोलीको सहभागिता रहेको थियो। ग्लोबल ओपन सिरिज खेलेको चर्चित टोली टीटुके तथा सन् २०२२ को ग्लोबल च्याम्पियनसिपको सेकेन्ड रनरअप टोली एएसएललाई विशेष स्लट प्रदान गरिएको थियो। बंगलादेशको राष्ट्रिय च्याम्पियन टोली एवान् आरजीले पनि प्रतियोगितामा सहभागिता जनाएको थियो। एएसएल र एवान् आरजीले अनलाइनमार्फत प्रतिस्पर्धा गरेका थिए।

    गल्र्स क्वालिफायरबाट ६९ ई–स्पोर्ट्स र एएमजेड तथा बोइस क्वालिफायरबाट फोरडीएम, टीबीजी, जेडएफ, एसटी, औरा, टीफोरई र पाब्लो ई–स्पोर्ट्सले प्रतिस्पर्धा गरेका थिए। वेस्टमिन्स्टर कलेजको इन्ट्रा कलेज पब्जी प्रतियोगिताबाट छनोट भएको एक टोलीले पनि शो डाउनमा स्थान बनाएको थियो।

    प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी)’ को उपाधि टीटुकेका इग्नियसले जिते। उनले प्रतियोगिताभर २५ वटा इलिमिनेसन गर्दै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरेका थिए। उनलाई नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ।

    प्रतियोगिताको व्यवस्थापन ई–स्पोर्ट्स हब अफिसियलले गरेको थियो भने मिथिकल ई–स्पोर्ट्स ब्रोडकास्ट पार्टनरका रूपमा रहेको थियो। हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितामा यसपटक पनि दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

    कलेजका इभेन्ट्स एण्ड इन्गेजमेन्ट म्यानेजर सुवार गौलीका अनुसार वेस्टमिन्स्टर कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै आएको छ। आगामी शैक्षिक सत्रहरूमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar