छोटो समयमा नै वालेन सरकारप्रति जनतामा निराशा चुलियो, जेन–जी हत्याराहरूले उन्मुक्ति पाए : प्रभु साह

  • कालिका खवर
  • शनिबार, जेष्ठ ३०, २०८३
  • वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वालेन्द्र शाह नेतृत्वको सरकार क्रमश असफल बन्दै गएको बताएका छन् । दुई तिहाई जनमतसहित सत्ताको बागडोर सम्हाल्ने अवसर पाएको रास्वपा र यसको नेतृत्व प्रधानमन्त्री वालेन साहसामू निरीह देखिएको साहको टिप्पणी छ ।

    आज (शनिबार) वीरगञ्जमा आयोजित पार्टीको मधेश प्रदेशको विस्तारिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनताले दुई तिहाई मतसहित रास्वपालाई अभूतपूर्व जिम्मेवारी सुम्पिएकोले नेपाली जनताले धैर्यतापूर्वक सरकारको कदमलाई नियाँलेको र सकारात्मक कामको अपेक्षा गरेको भएपनि सरकार बनेको छोटो समयमा नै निराशा चुलिएको उनको टिप्पणी छ ।

    सुशासन र सदाचारको सबालमा पनि वर्तमान सरकारले कुनै सकारात्मक छाप छोड्न नसकेको साहको आरोप छ । उनले भने,“हाम्रोतिर एउटा भनाई छ कि गर्जिने बादलले बर्षात् गर्दैन्, रास्वपाको यो सरकार पनि सुशासन र सदाचारको सवालमा सुरु सुरुमा ठूलो स्वरले चिच्यायो, तर सुशासन कायम गर्ने कुरा कता हरायो ?” उनले वर्तमान सरकार सुशासन र सदाचार कायम गर्ने सवालमा पूर्ण रुपमा असफल भएको भन्दै जेन–जी आन्दोलनको जगमा बनेको भएपनि जेनजी आन्दोलनको दमनकारी र हत्याराहरुलाई उन्मुक्ति दिएको बताए । सार्वजनिक तहमा बसेकाहरुको सम्पत्ति छानबिन गर्ने भनिएपनि पक्षपात र आफूबाहेकलाई छानबिन गर्ने भनेकोमा पनि उनले आपत्ति जनाए ।

    सेवाग्राहीको लाईन हटाउँछु भनेर उद्घोष गरेको भएपनि अहिले सरकारी कार्यालयहरुमा झनै लाईन बढेको, करारको कर्मचारी हटाउँछु भनेको भएपनि आफैं करारको भर्ती केन्द्र बनाएको, झोलेहरुलाई हटाउँछु भनेको भएपनि अहिले ती निकायहरुमा घण्टेहरुको अखडा बनाएको उल्लेख गर्दै उनले वर्तमान सरकारले सुशासनको धज्जी उडाएको दाबी गरे । उनले प्रधानमन्त्री शाहले शपथ लिने बेलामा ब्रम्हाण र भिक्षुलाई राखेर शंख्नाद गरेको भएपनि बुद्ध जयन्तीलाई बहिष्कार गरेको र हालै भारतबाट नेपाल भ्रमणमा आएका शंकाराचार्यलाई पनि बेवास्ता गरेको गुनासो पोखे ।

    उनले प्रधानमन्त्री शाह सरकारी र सार्वजनिक क्षेत्रको ब्राण्डिंग गर्नु सराहनीय भएपनि आफ्नै पार्टीको सांसदको कम्पनी भएकाले गोल्डस्टारको निजी ब्राण्ड एम्बासडरको रुपमा प्रस्तुत हुनु लज्जाको विषय भएको बताए । चुनावताका वाईवाईलाई नेपाली कांग्रेसको चाउचाउ भनेर बदनाम गर्ने प्रधानमन्त्रीले अहिले आएर अर्को निजी क्षेत्रको उत्पादनलाई प्रमोट गर्नुले पूर्वाग्रही भएको पुष्टि भएको उनको भनाई छ ।

    अहिले आएको बजेटले जनतामा कुनै आशा जगाउन नसकेको र यसले देशलाई समृद्धिको मार्गमा डोर्याउन नसक्ने पूर्वमन्त्री साहको ठोकुवा छ । बजेटले ट्याक्स र ऋण बढाएको, बजेटको आकार बढाईएको भएपनि विकास बजेट घटाईएको, बजेटमा नयाँ विकाससम्बन्धी पूर्वाधार योजना समावेश नगरिएको, गरिब र बेरोजगारलाई पूरै बेवास्ता गरेको, विभेद र असमानता हटाउन असफल भएको, उद्योग स्थापना गर्नुको साटो उल्टै उद्योग बेच्ने नीति अवलम्बन गरेको, विदेशबाट नेपाली युवाहरुलाई फिर्ता ल्याउँछु भन्नेहरुले उल्टै अहिले युवाहरुलाई विदेश लखेटिरहेको, किसानलाई पूरै बेवास्ता गरिएको उनको आरोप छ । उनले अहिलेको बजेटले भगौडा दलाल पुँजीपतिको पक्षपोषण गरेको भन्दै आलोचना गरे । वर्तमान सरकारले विकास पूर्वाधारको वितरणमा पनि पक्षपातपूर्ण व्यवहार गरेको भन्दै मधेशलाई स्टेडियमविहीन बनाईएको उनको आरोप छ ।

    राष्ट्रियताको रक्षा गर्ने सवालमा पनि वर्तमान सरकार चुकेको उनको आरोप छ । विदेशीलाई सरकारी जागिरिमा प्रवेशको सुरुवात गरिनु, विदेशीलाई वंशजको नागरिकता, भारतसँग नेपाली भूमि फिर्ता लिनुपर्नेमा उल्टै नेपालले भारतको जग्गा मिचेको छ भनेर नेपाली पक्षलाई कमजोर गरिएको, विश्व राजनीतिमा नेपाललाई अलग थलग गरिएको, नेपाली पुँजी खुलेआम विदेश लग्ने बाटो खोलिएको र नेपालको डाटा विदेशीलाई सुम्पिने कुरा गरिएको भन्दै राष्ट्रियताको सवालमा उनले वर्तमान सरकारका यी कदमप्रति प्रश्न उठाए ।

    लोकतन्त्रको सवालमा पनि वर्तमान सरकारले स्थापित मानकहरु भत्काउने र लोकतन्त्रका आधारभूत मूल्य र मान्यताको हत्या गरेको उनको आरोप छ । उनले अहिलेको सरकारले विधि मासेर बलमार्फत मनोमानी शासन चलाएको पनि गम्भीर आरोप लगाए । प्रधानमन्त्री शाहले आफैं निर्वाचित भएको सर्वोच्च थलो संसद्प्रति उदासिनता देखाएको, निर्वाचित जनप्रतिनिधिहरुलाई सरकारी पहुँचभन्दा अलग र अध्यादेशमार्फत शासन गरेकोमा पनि पूर्वमन्त्री साहले प्रश्न उठाए ।

    उनले भने,“प्रधानमन्त्रीले पारदर्शीता र जनउत्तरदायी शासन चलाउनुको साटो अदृश्य ढंगले अमूक समूहमार्फत शासन चलाउनुभएको छ, उहाँ आफ्नै पार्टीको संसदीय दलको बैठकमा जानुहुन्नँ, सांसदहरुको अभिमुखीकरण कार्यक्रम बहिष्कार गर्नुभयो, यसले सामान्यतया राम्रो सन्देश दिएको छैन ।”

    सामाजिक न्यायको सवालमा पनि वर्तमान सरकार सुरुमै चुकेको भन्दै गरिब, निमुखा र भुईंमान्छेहरुको हितको लागि काम गर्नुको साटो उल्टै उनीहरुको उठिबास लगाउने काम गरेको भन्दै साहले आलोचना गरे । उनले वर्तमान सरकारले घरबारविहीनहरुको आत्मसम्मानमा गहिरो चोट पुग्नेगरि प्रहार गरेको, सिमा क्षेत्रका जनतालाई अपमानित गरेको, दलितलाई न्याय दिनको सट्टा मधेशी दलितलाई संसद्मा प्रतिनिधित्वविहीन बनाएको र शिक्षा स्वास्थ्यलाई निःशुल्क गर्नुको सट्टा उल्टै कर लगाएर बोझिलो र महँगो बनाएको भन्दै आलोचना गरे ।

    युवा नेतृत्व भएकोले बालेन शाहबाट धेरैले सकारात्मक अपेक्षा र आशा राखेको भएपनि सरकार गठन भएको छोटो समयमा नै जनतामा निराशा चुलिनु सुखद् पक्ष नभएको बताए । उनले अहिले सरकारको कामकारबाही हेर्दा यो सरकार सपार्नको लागि नभएर बिगार्नको लागि मात्रै आएकोजस्तो देखिएको आरोप लगाए ।

    फरक प्रसंगमा उनले वीरगञ्ज मुलुककै आर्थिक राजधानीको रुपमा चिनिएको भएपननि सरकारले यसको विगतको मानलाई गिराउनेगरि बेवास्ता गरेको र चरम उपेक्षा गरिएको भन्दै आक्रोश पोखे । विगतका शासकहरुको कारण मधेश उजाड भएकोमा अहिले आएको नयाँ सरकारले पनि मधेशबाट भोट लिएपनि वीरगञ्जलाई खोट लगाएर डोजर आतंकको नाममा अस्तव्यस्त बनाएको भन्दै साहले आलोचना गरे । वीरगञ्ज सिंगो देशको आर्थिक हब र अर्थतन्त्रको लाईफाईन भएपनि अहिलेको सरकारले वीरगञ्जलाई पूरै बेवास्ता गर्नुको साथै बजेटमा विभेद गरेर सिंगो मधेशको मानमर्दन गरेको साहको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar