बजेटपछि सुजुकी इ-भिटाराको मूल्य घट्यो, चारै भेरियन्टमा १ लाखसम्म छुट

  • कालिका खवर
  • बुधबार, जेष्ठ २७, २०८३
  • काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) मा लाग्ने कर संरचनामा संशोधन गरेपछि सुजुकीको प्रिमियम इलेक्ट्रिक एसयूभी इ-भिटारा को मूल्य घटेको छ।

    सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक ले इ-भिटाराका चारै भेरियन्टमा अधिकतम १ लाख रुपैयाँसम्म मूल्य कटौती गरेको घोषणा गरेको हो। कम्पनीका अनुसार सरकारले उपलब्ध गराएको कर सहुलियतको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्‍याउने उद्देश्यले नयाँ मूल्यसूची तत्काल लागू गरिएको छ।

    कम्पनीले जारी गरेको जानकारीअनुसार संशोधित मूल्य नयाँ बुकिङका साथै हालसम्म डेलिभरी हुन बाँकी रहेका पुराना अर्डरहरूमा समेत लागू हुनेछ। साथै, पहिलो १०० वटा बुकिङका लागि सीमित अवधिसम्म विशेष ‘इन्ट्रोडक्टरी प्राइस’ समेत कायम गरिएको छ।

    ४९ किलोवाट आवर ब्याट्री क्षमतायुक्त डेल्टा भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँबाट घटाएर ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। कम्पनीका अनुसार यसले एक पटकको पूर्ण चार्जमा करिब ४४० किलोमिटरसम्म यात्रा गर्न सक्छ।

    त्यसैगरी, ६१ किलोवाट आवर ब्याट्री भएको जेटा भेरियन्टको मूल्य ५७ लाख ९९ हजार रुपैयाँबाट घटेर ५२ लाख ९९ हजार रुपैयाँ पुगेको छ। यो भेरियन्टले प्रतिचार्ज करिब ५०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

    प्रिमियम सुविधासहितको अल्फा भेरियन्टको मूल्य ६३ लाख ९९ हजार रुपैयाँबाट घटाएर ५८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसमा भ्यान्टिलेटेड सिट, प्रिमियम इन्टेरियर तथा एडभान्स्ड एम्बियन्ट लाइटिङजस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्।

    यस्तै, ड्युअल–टोन डिजाइनसहितको फ्ल्यागसिप अल्फा डीटी भेरियन्टको मूल्य ६४ लाख ४९ हजार रुपैयाँबाट घटाएर ५९ लाख ४९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।

    सुजुकी इ–भिटारा ‘हार्टेक्ट–इ’ प्लेटफर्ममा आधारित नेपालमा उपलब्ध पहिलो जापानी ब्याट्री इलेक्ट्रिक भेहिकलका रूपमा परिचित छ। यसमा सुरक्षाका लागि लेभल–२ एडीएएस, सातवटा एयरब्याग तथा गाडीबाट अन्य विद्युतीय उपकरण चार्ज गर्न सकिने ‘भी टु एल’ प्रविधिलगायत अत्याधुनिक फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीले नयाँ मूल्य संरचनाले नेपाली उपभोक्तालाई गुणस्तरीय र सुरक्षित विद्युतीय सवारी साधन थप सहज रूपमा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar