“अवशेष” लघु चलचित्र सार्वजनिक, द्वन्द्वपछिको पीडा र सैनिकको जिम्मेवारी चित्रण

  • कालिका खवर
  • शनिबार, जेष्ठ २३, २०८३
  • काठमाडौं।नेपालको सशस्त्र द्वन्द्वपछिको पीडादायी यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको लघु चलचित्र “अवशेष” सार्वजनिक गरिएको छ। फिल्मले युद्ध समाप्त भइसके पनि त्यसका अवशेषका रूपमा बाँकी रहेका विस्फोटक पदार्थहरूले सर्वसाधारण नागरिकको जीवनमा पारिरहेको गम्भीर जोखिम र त्रासलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

    १६ मिनेट लामो यस लघु चलचित्रमा समाजलाई सुरक्षित राख्न आफ्नो जीवन जोखिममा राख्ने सैनिकहरूको त्याग, कर्तव्य र जिम्मेवारीलाई समेत संवेदनशील ढंगले चित्रण गरिएको छ। फिल्मले सैनिकलाई केवल युद्धका पात्रका रूपमा नभई समाजको सुरक्षाका लागि निरन्तर खटिने जिम्मेवार संरक्षकका रूपमा प्रस्तुत गरेको छ।

    चलचित्रका लेखक तथा निर्देशक कमल एक्चै मगर हुन् भने लेखनमा आरुस जंग सारुले सहकार्य गरेका छन्। चलचित्रमा आयुष तामाङ, राम दाहाल, सुदिश थापा मगर र निस्वम मगरको अभिनय रहेको छ। कार्यकारी निर्माता कृशला मगर हुन् भने यो चलचित्र पर्फोमिङ आर्ट क्रिएशनको ब्यानरमा निर्माण गरिएको हो।

    जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले आयोजना गरेको वार्षिक प्रतियोगितामा यस लघु चलचित्रले दोस्रो स्थान हासिल गरेको थियो। साथै, नेपाल कल्चर इन्टरनेशनल फिल्म फेस्टिभल, नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, नेपाल इन्टरनेशनल स्क्रिन फिल्म फेस्टिभल र स्पाइनी ब्याबलर इन्टरनेशनल फिल्म फेस्टिभल लगायतका प्रतिष्ठित महोत्सवहरूमा यो चलचित्र अफिसियल छनोटमा पर्न सफल भएको छ।

    त्यस्तै, स्पाइनी ब्याबलर इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशक र उत्कृष्ट छायाँकार अवार्ड तथा नेपाल इन्टरनेशनल स्क्रिन फिल्म फेस्टिभलमा उत्कृष्ट कथा लेखन र उत्कृष्ट छायाँकार अवार्ड प्राप्त गर्न सफल भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar