वीरगञ्ज महानगरको छात्रवृत्ति योजना : जेहेन्दार विद्यार्थीका लागि सुनौलो अवसर

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १४, २०८३
  • पर्सा। बीरगंज महानगरपालिका ले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरेसँगै शिक्षा क्षेत्रमा सकारात्मक उत्साह थपिएको छ । आर्थिक रूपमा कमजोर तर अध्ययनमा उत्कृष्ट क्षमता भएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमलाई विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा सरोकार राख्ने व्यक्तिहरूले स्वागत गरेका छन् ।

    यस छात्रवृत्ति कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका आनन्द लामिछाने को कार्यशैलीको यतिबेला व्यापक प्रशंसा भइरहेको छ । करिब एक वर्षदेखि शैक्षिक प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँले छोटो समयमै शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनको अनुभूति गराउन सफल भएको धेरैको भनाइ छ ।

    महानगरपालिकाले जारी गरेको सूचनाअनुसार कक्षा ९ का लागि २०८२ सालको नगरस्तरीय कक्षा ८ परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थी तथा कक्षा ११ का लागि २०८२ सालको एसईई परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइनमार्फत सञ्चालन गरिएकाले विद्यार्थीहरूलाई सहज र सरल वातावरण उपलब्ध भएको छ । शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछाने ले योग्य तथा जेहेन्दार विद्यार्थी आर्थिक अभावकै कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने सोचसहित महानगरले छात्रवृत्ति कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    उहाँको नेतृत्वमा शिक्षा क्षेत्रमा अनुशासन, पारदर्शिता र गुणस्तरीय व्यवस्थापनलाई विशेष महत्व दिइन थालेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । विशेषगरी छात्रवृत्ति वितरण प्रक्रियालाई प्रतिस्पर्धात्मक र निष्पक्ष बनाउने प्रयासले विद्यार्थीहरूमा थप उत्साह सिर्जना गरेको छ । प्रविधिमैत्री प्रणालीमार्फत आवेदन प्रक्रिया सञ्चालन गरिनु महानगरको आधुनिक शैक्षिक सोचको उदाहरणका रूपमा हेरिएको छ ।

    छोटो समयमै शिक्षा क्षेत्रमा सक्रिय, जिम्मेवार र परिणाममुखी नेतृत्व प्रस्तुत गर्न सफल आनन्द लामिछाने प्रति विद्यार्थी, अभिभावक तथा शिक्षा प्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया आउने क्रम बढ्दो छ । उहाँको नेतृत्वले वीरगञ्ज महानगरपालिकाको शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar