नयाँ संसद भवन फिल्म हलजस्तो देखियो : ऐन महर

  • कालिका खवर
  • बुधबार, जेष्ठ १३, २०८३
  • काठमाडौँ : नेकपा (एमाले) का सांसद ऐन महरले सिंहदरबारमा निर्माण भइरहेको नयाँ संसद् भवनको आन्तरिक संरचनालाई लिएर गम्भीर असन्तुष्टि पोखेका छन्।

    बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले सभाहलको डिजाइन संसद्को गरिमा सुहाउँदो नभएको टिप्पणी गरेका हुन्। नयाँ भवनबाटै आगामी शुक्रबार बजेट ल्याउने सरकारको तयारीलाई स्वागत गर्दै उनले हलभित्रका कुर्सी र टेबलको व्यवस्थापनलाई लिएर प्रश्न गरेका हुन्।

    सांसद महरले भने, ‘सभामुखज्यू (डिपी अर्याल) ले अस्ति निरीक्षण गर्दै गर्दा हामीले एउटा भिडियो देख्यौं। सभामुखज्यूले यो भएन, त्यो भएन भनिरहनुभएको थियो। म त्यसप्रति सम्मान र समर्थन व्यक्त गर्न चाहन्छु। त्यो सभाहल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन्।’

    सांसद महरले नयाँ हलमा राखिएका सिटहरू फिल्म हलका जस्ता र टेबलहरू स्कुलको कक्षा कोठाका जस्ता देखिएको भन्दै आक्रोश व्यक्त गरे। उनले अगाडि थपे, ‘त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाउने कोसिस गरिएको छ। त्यसतर्फ ध्यान पुगोस् र प्रतिनिधि सभाको गरिमामय हलजस्तो बनाइओस्। समयमा नै यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

    सरकारले जेठ १५ गते आउने नयाँ बजेट सोही नयाँ संसद् भवनबाटै प्रस्तुत गर्ने अन्तिम तयारी गरिरहँदा सांसद महरको यो असन्तुष्टि बाहिर आएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar