महिलालाई सशक्त बनाउने लक्ष्यसहित नेल आर्ट तालिम समापन

  • कालिका खवर
  • आइतवार, बैशाख १३, २०८३
  • काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी महिला विभागको आयोजनामा शुरु गरिएको सातदिने ‘एडभान्स नेल आर्ट’ तालिम सम्पन्न भएको छ। तालिममा ३३ जना प्रशिक्षार्थीले तालिम लिनुभएको आयोजकले जनाएको छ ।

    तालिमको समापन कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले तालिमले मान्छेलाई परिस्कृत बनाउने हुनाले सात दिने प्रशिक्षण उपलब्धीपूर्ण रहेको बताउनुभयो । मान्छेले आफूलाई जहिले सक्षम बनाउन तयार रहनु पर्ने र यस्ता तालिमले प्रशिक्षार्थीलाई सहयोग पुग्नेगरेको उहाँले धारणा राख्नुभयो ।

    मञ्चका निर्वतमान अध्यक्ष सञ्जय थापाले तालिम लिएर आत्मनिर्भर बन्न र देशमै केही गर्न सकियोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँले तालिम केवल प्रमाणपत्रका लागि मात्र नभई सिप सिकेर उद्यमी बन्नका लागि लिनुपर्ने बताउनुभयो। साथै तालिमपछि स्वरोजगार बन्न र आत्मनिर्भर हुन सहभागीहरूलाई आग्रह गर्नुभयो।

    कार्यक्रममा रिटर्नी फेडेरेशनका अध्यक्ष विनोद भट्टराईले सिपमूलक तालिम विदेश जाने महिला दिदीबहिनीहरूका लागि अत्यन्त आवश्यक रहेको बताउनुभयो। समयअनुसारको सिप सिकाइले व्यक्तिलाई व्यवसायिक बनाउन थप मद्दत पुग्ने उहाँको विश्वास थियो।

    महिला विभागकी सचिव सरिता भट्टराईले नेल आर्टको माध्यमबाट महिलालाई आत्मनिर्भर, सशक्त र व्यवसायिक बनाउन सिप विकास गराउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो। यसअघि नै बेसिक तालिम लिइसकेका ३३ जना विद्यार्थीलाई पुनः एडभान्स तालिम दिई उनीहरूको सिपलाई थप निखार गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो।

    सौन्दर्यका विभिन्न विधामध्ये पछिल्लो समय महिलाहरूले नङलाई पनि विभिन्न तरिकाले सजाउने चलन बढ्दै गएको सन्दर्भमा तालिम आयोजना गरिएको आयोजकले जनाएको छ। प्रवासी नेपाली मञ्च विश्वभर छरिएर रहेका नेपालीहरूको हकहितका लागि काम गर्दै आएको संस्था हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar