यमनका हूथीद्वारा रेड सीमा ढुवानी अवरुद्ध पार्ने चेतावनी

  • कालिका खवर
  • सोमवार, चैत्र १६, २०८२
  • काठमाडौं । यमनका इरानसमर्थित हूथीहरूले ’रेड सी’को दक्षिणी प्रवेशद्वारमा ढुवानी अवरुद्ध गर्ने धम्की दिएका छन् । इरानले ठप्पप्रायः गराएको होर्मुज जलमार्गका कारण विश्वव्यापी रूपमै पहिल्यै गम्भीर आर्थिक अवरोध निम्तिएको छ । रेड सीमा तनाव उत्पन्न भएमा त्यस्तो अवस्था अझ जटिल बन्ने ठानिएको छ ।

    मध्यपूर्वमा एक महिनाअघि युद्ध सुरु भएदेखिको शनिवार हूथीहरूले इजरेलमा पहिलो क्षेप्यास्त्र आक्रमण गरेका थिए । इजरेलले ती क्षेप्यास्त्रहरूलाई निस्तेज पारेको थियो ।

    एक प्रवक्ताले आफ्नो समूहले इजरेलसँग सम्बन्धित “कैयौँ महत्त्वपूर्ण सैन्य स्थलहरू“ लाई लक्षित गर्दै “क्रूज क्षेप्यास्त्र र ड्रोनहरूको ब्याराज“ प्रहार गरेको जनाएका छन् । दुई वर्षअघि हूथीको नेतृत्वमा उक्त जलमार्गमा ढुवानी प्रभावित पार्ने धम्कीले गर्दा युरोप र अमेरिका जाने अधिकांश पानीजहाजहरू अफ्रिकाको वरिपरि भएर यात्रा गर्न बाध्य भएका थिए ।

    यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले भने इरानले आफ्नो देशलाई मध्यपूर्वको द्वन्द्वमा “जबरजस्ती तान्ने प्रयास“ गरेको भन्दै निन्दा गरेको छ । इरानले खाडी देशहरूमा रहेका निसानाहरूमा क्षेप्यास्त्र तथा ड्रोनहरू प्रहार गर्ने काम जारी राखेको छ ।

    बाहरेनमा विश्वको सबैभन्दा ठूलो एल्यमिनिअम उत्पादकहरूमध्येको एक अल्बाले आफ्ना केन्द्रहरूमा भएका आक्रमणबाट भएको क्षतिको मूल्याङ्कन गरिरहेको जनाएको छ ।

    त्यसअघि इरानले बाहरेन र यूएईमा रहेका एल्यमिनिअम प्लान्टहरूलाई लक्षित गरेको बताएको थियो । तेहरानले ती केन्द्रहरूको अमेरिकी सेनासँग सम्बन्ध रहेको दाबी गरेको छ ।

    इजरेलले शनिवार इरानको राजधानी तेहरानमा आक्रमणको अर्को चरण पूरा गरेको जनाएको छ । त्यसमा कमान्ड सेन्टर र हतियार साइटहरूलाई लक्षित गरिएको बताइएको छ ।

    यसैबीच वाशिङ्टन पोस्ट पत्रिकाले प्रकाशन गरेको समाचार अनुसार पेन्टागनले इरानमा हप्तौँ चल्ने गरी स्थल कारबाहीको तयारी गरिरहेको छ ।

    तर त्यसलाई डोनल्ड ट्रम्पले अनुमोदन गर्ने कि नगर्ने भन्ने कुरा अझै स्पष्ट नभएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा जनाइएको छ ।

    अमेरिकाले आफ्नो युद्धपोत यूएसएस त्रिपोली लिएर करिब ३,५०० सैनिकहरू यस क्षेत्रमा आइपुगेको जनाएको छ । उक्त खबरले हालको योजनामा उक्त स्थल कारबाही पूर्ण आक्रमण नहुने, बरु स्पेशल अपरेसशन फोर्स र परम्परागत सैनिकहरूको दस्ताको मिश्रणबाट थप प्रहारहरू गर्ने कुरा रहेको उल्लेख गरेको छ ।

    बीबीसीले टिप्पणीका लागि ह्वाइटहाउस र पेन्टागनलाई सम्पर्क गरेको छ । पाकिस्तानले इरानसँग पाकिस्तानी झण्डावाहक थप २० पानीजहाजहरूलाई होर्मुजको जलमार्गबाट जान अनुमति दिने सम्झौता गरेको बताएको छ ।

    उक्त साँघुरो जलमार्ग करिब सबैजसो पारवहनका लागि बन्द गरिएको छ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले मध्यपूर्वमा तनाव कम गर्ने उद्देश्यले टर्की, इजिप्ट र साउदी अरेबियाका आफ्ना समकक्षीहरूसँग आइतवार र सोमवार बैठक आयोजना गर्नुभन्दा एक दिनअघि इरानसँगको सम्झौताको घोषणा गरेका थिए ।

    बीबीसीका एक संवाददाताले पाकिस्तान मध्यपूर्व सङ्कटमा मध्यस्थता गर्न राम्रो स्थितिमा रहेको बताएका छन् । इस्लामाबाद इरान र अमेरिका दुवैको नजिक छ तर उक्त देशमा कुनै पनि अमेरिकी सैन्य अड्डाहरू छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar