इरान–अमेरिका तनावका बीच तेलको भाउ ११६ डलर नाघ्यो

  • कालिका खवर
  • सोमवार, चैत्र १६, २०८२
  • न्यूयोर्क : विश्व बजारमा कच्चा तेलको मूल्य फेरि तीव्र रूपमा उकालो लागेको छ । सोमबार बिहान तेलको अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडको भाउ ३ प्रतिशतभन्दा बढीले बढ्दै प्रति ब्यारेल ११६ डलर नाघेको छ ।

    यो मूल्य मार्च १९ पछि कै उच्च हो । त्यतिबेला केही समयका लागि तेलको भाउ ११९ डलरसम्म पुगेको थियो । यो वृद्धि अमेरिका–इजरायल र इरानबिचको द्वन्द्व झन् चर्किँदै गर्दा आएको हो । इरानले अमेरिका भू–आक्रमणको तयारीमा रहेको आरोप लगाउँदै आफू पनि त्यसका लागि तयार रहेको जनाएपछि तेल बजार त्रस्त बनेको छ । इरानी संसदका सभामुखले अमेरिकी सेना आए आगो लगाइदिने र उसका क्षेत्रीय साझेदारलाई दण्डित गर्ने चेतावनी दिएका थिए ।

    सप्ताहन्तमा द्वन्द्व थप गहिरिँदै गएको देखिएको छ । इरान समर्थित हुथी विद्रोहीले पहिलो पटक इजरायलमाथि मिसाइल प्रहार गरेको छ भने इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य कारबाही विस्तार गरेको छ । यसैबिच, स्ट्रेट हर्मुज इरानले ठप्प प्रायः गरेपछि विश्वभर ऊर्जाको आपूर्तिमा ठुलो असर परेको छ । यो स्ट्रेट भएर विश्वको झन्डै २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति हुने भएकाले यसको अवरोधले दशककै ठुलो ऊर्जा संकट निम्त्याएको बताइएको छ । युद्ध सुरु भएयता तेलको मूल्य करिब ६० प्रतिशतले बढिसकेको छ, जसले विश्वभर इन्धन मूल्य महँगो बनाएको छ ।

    धेरै देशहरूले ऊर्जा बचतका लागि आपतकालीन उपायहरू लागू गर्न थालेका छन् । एसियाली सेयर बजारमा पनि यसको असर देखिएको छ । सोमबार जापानको निक्केई २२५ र दक्षिण कोरियाको कोस्पी परिसूचक ४ प्रतिशतभन्दा बढीले घटेका छन् । अप्रिल ६ सम्म इरानले स्ट्रेट अफ हर्मुजमा आफ्नो नियन्त्रण नछोडेमा इरानको ऊर्जा संरचना पूर्ण रूपमा ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । स्ट्रेटमा मा जहाज आवागमन सामान्य अवस्थामा नफर्केसम्म तेलको मूल्य अझै बढ्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar