काठमाडौं उपत्यकामा असिनासहित वर्षा, जनजीवन प्रभावित

  • कालिका खवर
  • शुक्रबार, चैत्र ६, २०८२
  • काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज(शुक्रबार) असिनासहित वर्षा भएको छ। मौसममा अचानक आएको परिवर्तनसँगै आकाशमा बाक्लो कालो बादल छाउँदै असिना परेको हो। वर्षा र असिनाका कारण केही समयका लागि सवारी आवागमन प्रभावित भएको थियो भने पैदल यात्रुहरूलाई पनि समस्या भएको देखिएको छ।

    मौसमविद्हरूका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानमा मौसममा परिवर्तन आएको हो। आगामी केही दिनसम्म मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको पनि जनाइएको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। उक्त प्रणाली उत्तर–पूर्वतर्फ सर्दै गइरहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

    त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हावाहुरी चलिरहेको जनाएको छ। हावाहुरी अझ तीव्र हुन सक्ने भएकाले सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल ढल्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उडाउने जोखिम रहेको चेतावनी दिइएको छ।

    प्राधिकरणले जोखिमयुक्त यात्रा नगर्न, हावाहुरी नरोकिन्जेल सुरक्षित स्थानमा बस्न र विद्यालय बस सञ्चालनका क्रममा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar