शहिद धर्मराज सिंहकी आमाबाट एमाले उम्मेदवार प्रदीप यादवलाई विजय तिलक

  • कालिका खवर
  • शुक्रबार, माघ २३, २०८२
  • वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर–इनर्वा निवासी मधेश आन्दोलनका वीर शहिद स्वर्गीय धर्मराज सिंह राजपुतकी आमा कलावती देवी राजपुतिनले नेकपा एमाले पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवलाई विजय तिलक लगाएर जितको आशीर्वाद प्रदान गरेकी छन्।

    शुक्रबार बिहान शहिद परिवारसँग भेटघाट गर्ने क्रममा उम्मेदवार यादव शहिद राजपुतको निवास पुगेका थिए। सो अवसरमा शहिदकी आमा कलावती देवीले यादवलाई फूलमाला पहिर्याइ, दोसल्ला ओढाएर मिठाई खुवाउँदै निधारमा टीका लगाई भावुक हुँदै विजयको शुभकामना दिएकी थिइन्।

    भेटका क्रममा शहिदकी आमा कलावती देवीले उम्मेदवार यादवप्रति गहिरो विश्वास व्यक्त गर्दै भनिन्, “धेरै नेता आए र गए, तर हाम्रो सुख–दुःख साँचो रूपमा बुझ्ने र साथ दिने नेता प्रदीप यादव मात्र हुनुहुन्छ।”

    शुक्रबार बिहानैदेखि वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर तथा वडा नम्बर २२ मनियारीमा जनता दर्शन कार्यक्रमअन्तर्गत सक्रिय रहेका उम्मेदवार यादवले शहिदकी आमासँग लामो समय आत्मीय संवाद गरेका थिए। सो क्रममा उनले शहिद धर्मराज सिंहले देखाएको बलिदानी मार्गलाई कहिल्यै नबिर्सिने प्रतिबद्धता व्यक्त गर्दै भने, “म पनि तपाईंको छोरा हुँ। कुनै समस्या आए नडराई सिधै मलाई फोन गर्नुस्।”

    उम्मेदवार यादवले आफू सधैं शहिद परिवारको सुख–दुःखमा साथ रहने र भविष्यमा पनि सहयोग नछोड्ने वाचा गरेका छन्।

    शहिद परिवारसँगको भेटपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यादवले शहिद आमाबाट प्राप्त विजय तिलकले आफूलाई थप उत्साहित र जिम्मेवार बनाएको बताए। उनले आफू केवल आश्वासन दिने नेता नभई बोलेको कुरा गरेर देखाउने व्यक्ति भएको दाबी गर्दै आगामी दिनमा पनि कामबाटै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar