आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग

  • कालिका खवर
  • आइतवार, माघ १८, २०८२
  • काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता हालसम्म २३ वटा उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये १२ वटा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिसकेको छ ।

    आइतबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले स्पष्टीकरण सोधिएका उजुरीमध्ये १२ वटाको जवाफ आइसकेको जानकारी दिए ।

    उनका अनुसार कानुनी प्रावधानअनुसार सफाइको अवसर नदिई कारबाही गर्न नपाइने भएकाले आयोगले पहिला स्पष्टीकरण सोध्ने प्रक्रिया अपनाएको बताए ।

    ‘प्राप्त उजुरीहरुमध्ये २३ वटा उजुरी परेको छ । जसमा सम्बन्धित व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोध्ने काम भएको छ । १२ वटाको जवाफ आइसकेको छ । आयोगले कारबाही गर्नुअघि अनिवार्य रूपमा स्पष्टीकरण सोध्नुपर्छ । चित्त बुझ्दो जवाफ आएमा सफाइ दिइन्छ,’ भट्टराईले भने, ‘यदि चित्त बुझ्दो जवाफ आएन भने कारबाही गरिनेछ ।’

    त्यसैगरी, उनले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी तथ्यसहितका उजुरी तथा गुनासो दर्ता गर्न आयोगले छुट्टै इमेल ठेगाना सार्वजनिक गरेको जानकारी दिए । उनका अनुसार ‘इसीएम डट सिओसी एड द रेट इलेक्सन डट जिओभी डट एनपी’ इमेलमार्फत आयोगमा उजुरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको प्रवक्ता भट्टराईले बताए ।

    उनले भने, ‘आयोगको तर्फबाट निर्वाचन आचारसंहिता सम्बन्धमा तथ्य सहित उजुरी गर्नलाई हामीले एउटा इमेल ठेगाना सार्वजनिक गरेका छौं । ‘इसीएम डट सिओसी एड द रेट इलेक्सन डट जिओभी डट एनपी’ त्यो चाँही आयोगको तर्फबाट उजुरी र गुनासो गर्नलाई व्यवस्था गरिएको इमेल हो।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar