बालेनको चुनावी कार्यक्रममा लुटेरा गिरोह सक्रिय : ६ जनाको सिक्री चोरी, एक पक्राउ

  • कालिका खवर
  • शुक्रबार, माघ १६, २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सहभागी चुनावी कार्यक्रममा ६ जनाको सुनको सिक्री लुटपाट भएको खुलेको छ ।

    अछाम र कञ्चनपुरमा साह सहभागी कार्यक्रममा भीडको फाइदा उठाउँदै लुटेरा गिरोह सक्रिय भएको हो । साथै, सिक्री चोरीको आरोपमा एक जना पक्राउ परेका छन् ।

    कञ्चनपुरको झलारीमा बुधबार बालेनलाई हेर्न जम्मा भएको भीडमा धनगढी–२ का मनोज चौधरी र धनगढी–३ का सञ्जीव मल्लको सिक्री चोरी भएको हो । घटनापछि सीसीटीभी फुटेजका आधारमा प्रहरीले खोजी थालेको थियो ।

    यसैबीच, बिहीबार अछामको साँफेबगर नगरपालिका–४ मा आयोजित बालेनको कार्यक्रममा सिक्री चोरी गरेको आरोपमा पर्साको पकाहा मैनपुर–५ का ३१ वर्षीय उमेश राय पक्राउ परेका छन् । प्रहरीले रायसहितको समूहले बालेन सहभागी कार्यक्रममा आएका चार जनाको सिक्री चोरी गरेको र पाँचौँ महिलाको सिक्री चोर्ने क्रममा उनी पक्राउ परेको जनाएको छ ।

    अछाममा मात्रै ६ तोलाभन्दा बढी सुन चोरी भएको र पक्राउ परेका व्यक्तिबाट एउटा सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ । अछामका प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ परेका व्यक्ति पेशेवर चोर रहेको र घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar