इन्डोनेसियामा भीषण पहिरो : ७ जनाको मृत्यु, ८२ जना बेपत्ता

  • कालिका खवर
  • शनिबार, माघ १०, २०८२
  • जाभा । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शनिबार गएको पहिरोमा परेर कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८२ जना अझै बेपत्ता छन्। इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका अनुसार पश्चिम बाङडुङ क्षेत्रमा यो प्राकृतिक विपत्ति आइलागेको हो।

    बेपत्ता हुनेहरूको संख्या धेरै भएकाले अहिले उद्धार र खोजी कार्यलाई तीव्रता दिइएको एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले जानकारी दिएका छन्। जाभा टापुमा दुई महिनाभित्र गएको यो दोस्रो ठूलो पहिरो हो। यसअघि गत नोभेम्बर १३ मा सिबेयुनिङ गाउँमा भारी वर्षापछि गएको पहिरोमा ११ जनाले ज्यान गुमाएका थिए।

    स्थानीय सञ्चारमाध्यमका अनुसार इन्डोनेसियाको मौसम विज्ञान विभागले पश्चिम जाभामा शुक्रबारदेखि नै एक सातासम्म भारी वर्षा र चरम मौसमी अवस्था रहने चेतावनी दिएको थियो। इन्डोनेसियामा पछिल्लो समय बाढी र पहिरोले ठूलो मानवीय क्षति पुर्‍याइरहेको छ।

    गत महिना मात्रै उत्तरी सुमात्रा, पश्चिम सुमात्रा र आचे प्रान्तमा आएको बाढी र पहिरोका कारण १ हजार १७० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar