गभर्नर पौडेलको चेतावनी: ‘तरलता व्यवस्थापन नहुँदा अर्थतन्त्रमा साइड इफेक्ट एकपछि अर्को देखिँदै’

  • कालिका खवर
  • सोमवार, मंसिर १५, २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले तरलता व्यवस्थापन हुन नसक्नु नै देशको अर्थतन्त्रको मुख्य समस्या बनेको बताएका छन्। सेजन (नेपाल आर्थिक पत्रकार समाज) को २९औँ वार्षिक साधारण सभामा बोल्दै उनले तरलता अभावका कारण आर्थिक गतिविधि सुस्त भएको र यसको ‘साइड इफेक्ट’ क्रमशः देखिएको बताए।

    गभर्नर पौडेलका अनुसार, तरलता व्यवस्थापनको समस्याले बैंकहरूको नाफामा प्रत्यक्ष असर पारेको छ भने कर्जा प्रवाहमा बाधा पुगेको छ, जसका कारण आर्थिक क्रियाकलापले गति लिन सकेको छैन।

    मौद्रिक नीति प्रभावकारी नभएको टिप्पणी

    पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले मौद्रिक नीतिबाट ल्याइने नीतिगत प्रावधानहरू पूर्ण रूपमा कार्यान्वयन नगरेको आरोप लगाए।
    उनका अनुसार,

    “बैंकका फाइनान्सियल प्रोडक्ट मौद्रिक नीतिसँग कन्सिस्टेन्ट भएर आएका छैनन्।”

    विदेशी रोजगारका लागि ३ देखि ५ लाख रुपैयाँसम्म कर्जा दिने कार्यक्रम ल्याइए पनि केवल १८–१९ जना नयाँ ग्राहक मात्र देखिनु मौद्रिक नीति ट्रान्समिसन कमजोर भएको स्पष्ट संकेत भएको उनले बताए।

    व्यवसायी र किसानको आवश्यकता अनुसार प्रोडक्ट विकास नहुँदा गुनासो

    गभर्नरले किसान, एग्रो–फार्मर, पर्यटन व्यवसायी लगायत धेरैले बैंकका लोन प्रोडक्ट आफ्नो आवश्यकताअनुसार डिजाइन नआएको गुनासो गरिरहेको उल्लेख गरे।
    उनले बैंकका सिइओहरूलाई स्थानीय व्यवसायी, किसान र उद्यमीहरूसँग नजिक भएर काम गर्न आग्रह गरे।

    “ट्रान्समिसनको कडी कतै टुटेको छ। स्थानीय तहका आवश्यकता बुझेर उत्पाद विकास भएन भने मौद्रिक नीतिको प्रभाव सीमित हुन्छ,”
    गभर्नरको भनाइ छ।

    इक्विटी लिमिट बढेपछि सहजता आउने आशा

    आज सार्वजनिक मौद्रिक नीतिमा पूर्ण इक्विटी लिमिट बढाइएको उल्लेख गर्दै गभर्नर पौडेलले कृषक, पर्यटन व्यवसायी तथा अन्य क्षेत्रमा गरिएको सुधारले विपद् वा समस्यामा परेकालाई सहजता ल्याउने विश्वास व्यक्त गरे।

    अन्त्यमा, उनले बैंकलाई कर्जा प्रवाह सक्रिय बनाउन, मौद्रिक नीति प्रभावकारी बनाउन र वास्तविक क्षेत्रसँग जोडिएको वित्तीय सेवा विकास गर्न थप सक्रिय हुन आह्वान गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar