समृद्धि फाइनान्स पोखरा शाखाद्वारा हिमाल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • सोमवार, मंसिर १५, २०८२
  • पोखरा । समृद्धि फाइनान्स लिमिटेड, पोखरा शाखाले हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। मध्यवर्ती तह तथा बीबीए प्रथम सेमेस्टरका ३० जना विद्यार्थीहरूलाई लक्षित कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको फाइनान्सले जनाएको छ।

    कार्यक्रम समृद्धि फाइनान्सका शाखा प्रबन्धक दीपक कुमार श्रेष्ठको नेतृत्वमा सञ्चालन गरिएको थियो। कार्यक्रममा बीएफआईहरूको कार्यक्षेत्र, रोजगारीका अवसरहरू, बैंक वर्गीकरण, सहकारीसँगका भिन्नता लगायतका विषयमा विद्यार्थीहरूलाई परिचय गराइयो। साथै, वित्तीय क्षेत्रमा उपलब्ध अवसर तथा करियर मार्गदर्शनसम्बन्धी सल्लाह पनि प्रदान गरिएको थियो।

    विद्यार्थीहरूले कार्यक्रम अत्यन्त जानकारीमूलक तथा उपयोगी भएको प्रतिक्रिया दिए। समृद्धि फाइनान्सले आगामी दिनमा पनि यस किसिमका वित्तीय सचेतना कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    नेपाल राष्ट्र बैंकबाट “ग वर्गको” इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ शाखामार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएको छ। यसको सेवामार्फत आरटीजिएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ सेवा तथा मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड लगायतका आधुनिक डिजिटल सेवा सुविधा उपलब्ध गराइँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar