मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु, कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र

  • कालिका खवर
  • मङ्लबार, मंसिर २, २०८२
  • म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा सोमबारदेखि औपचारिक रूपमा कालोपत्र कार्य सुरु गरिएको छ। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले ६.५ किलोमिटर दूरीमा कालोपत्र थालिएको जानकारी दिएको छ।

    अक्सफाल्ट प्रविधिबाट दुई लेनमा कालोपत्र

    कार्यालयका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाँईका अनुसार यो खण्डमा दुई लेन मानक अनुसार अक्सफाल्ट प्रविधि प्रयोग गरिँदै छ।
    “गत वर्ष मालढुङ्गा–फर्से खण्डको ५.५ किलोमिटर कालोपत्र भएको थियो,” उनले भने, “बाँकी रहेको फर्से–बेनी खण्ड पनि यही महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित उपकरण र श्रमिक परिचालन गरिएको छ।”

    सडकको संरचना र प्रगतिः

    • कुल दूरी: १३ किलोमिटर

    • ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्र: १ किलोमिटर (फर्से–बेनी बजार)

    • ढलान निर्माण: २.२ किलोमिटर

    • सोमबार एकतर्फी कालोपत्र:

      • लस्ती बजार – ५६० मिटर

      • लस्ती पुल–केराबारी पहिरो – २५० मिटर

    निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीका इञ्जिनियर जीवन चौधरीका अनुसार मङ्गलबारै उक्त खण्डमा दुईतर्फी कालोपत्र सम्पन्न गरेर केराबारीदेखि मिलनचोकतर्फ काम अघि बढाइनेछ।

    सवारी आवतजावत वैकल्पिक मार्गबाट

    कालोपत्रलाई तीव्रता दिन म्याग्दी प्रशासनले मालढुङ्गा–बेनी सडकलाई मङ्सिर २० गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म बन्द गर्ने व्यवस्था गरेको छ।
    यो अवधिमा म्याग्दी र मुस्ताङतर्फ जाने सवारी यातायात मालढुङ्गा–बागलुङ–रत्नेचौर–बेनी वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्।

    तीन वर्ष ढिलाइपछि लक्ष्य नजिक

    २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भए पनि २०७९ मा सम्पन्न हुनुपर्ने काम बाढीपहिरो, कोभिड–१९ र सामग्री अभावका कारण रोकिएको थियो। सहायक ठेकेदारले अलपत्र पारेपछि एक वर्षअघि मुख्य ठेकेदारले पुनः काम सक्रिय रूपमा अघि बढाएको हो।

    स्थानीयमा खुशीः यात्रा सहज हुने अपेक्षा

    मिलनचोकका स्थानीय बासिन्दा बाबुराम कार्कीका अनुसार सडक कालोपत्रपछि

    • यात्रा समय छोटिने

    • ढुवानी तथा यातायात भाडादर घट्ने

    • धुलो–हिलो र जोखिमपूर्ण यात्राबाट मुक्ति मिल्ने

    उनले सडकको स्तरोन्नति स्थानीय, पर्यटक तथा तीर्थयात्री सबैका लागि ठूलो राहत हुने बताए।

    चालु आर्थिक वर्षमै कालोपत्र सम्पन्न लक्ष्य

    मालढुङ्गा–बेनी सडक २०५२ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रममार्फत खुला गरिएको थियो भने २०६८ सालमा पहिलोपटक कालोपत्र गरिएको हो।
    सडक योजना कार्यालयका अनुसार चालु आर्थिक वर्षभित्र बाँकी काम पूरा गर्ने लक्ष्य छ।

    यो सडक म्याग्दी, मुस्ताङ, पर्वतका बासिन्दा तथा भारत–चीन जोड्ने कालीगण्डकी करिडोरका यात्रुहरूका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar