कांग्रेस, एमाले र माओवादीलाई नै बोकाएर राजा ल्याउने हो : अध्यक्ष लिङ्देन

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालमा अब गणतन्त्रवादी दलहरुले नै बोकेर राजा ल्याउने बताएका छन् । पोखरा महानगरको अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरुले ल्याउने राजा राप्रपाको मात्रै हुने भएकोले अब आउने राजा देशकै अभिभावक हुने र त्यो अहिलेका गणतन्त्रवादी दलहरुले नै बोकेर ल्याउने दाबी गरेका छन् ।

    ‘हामीले ल्याउने राजा हाम्रो मात्रै आउँछन्, आए भने पनि धेरै नटिक्न सक्छन्,’ उनले भने– ‘अब ल्याउने राजा देशको राजा हो । हामीले राजसंस्था ल्याउने हो तर त्यो कांग्रेस, एमाले र माओवादीलाई बोकाएर ल्याउने हो ।’ जेनजी आन्दोलनकै क्रममा राजसंस्था ल्याउनुपर्ने आवाज उठेपनि समय आएपछि मात्रै कदम चाल्नुपर्ने उनको तर्क छ ।

    गणतन्त्र मान्ने दलहरुले नै आफूहरुसँग राजसंस्था ल्याउने विषयमा कुरा गरिरहेको भन्दै लिङदेनले गणतन्त्र राष्ट्रिय एकताको दृष्टिकोणले खतरनाक भएको बताए ।  ‘तपाईंहरुले राम्रै विचारले राम्रै सोचले गणतन्त्र ल्याउनु भएको थियो होला । तर त्यो आज असल असफल साबित भयो,’ अघि भने- ‘तसर्थ राजा, राजनीतिक दल र जेन्जीको बिचमा एउटा सर्वपक्षीय सम्मेलन गरेर नेपाललाई सुहाउँदो मौलिक व्यवस्था निर्माण गर्न जरुरी छ ।’

    उनले फागुन २१ को चुनावअघि नै देशलाई निकास दिनुपर्ने बताएका छन् । ‘चुनावको कुनै औचित्य छैन । तर चुनाव भयो भने एउटा राष्ट्रिय पार्टीको हिसाबले हामीले चुनावमा पनि भाग लिन्छौं,’ लिङ्देनले भने–  ‘चुनाव हाम्रो प्राथमिकता होइन । चुनावभन्दा अगाडि नै देशले एउटा निकास पाउनुपर्छ भन्ने हाम्रो प्राथमिकता हो ।’

    यसैका लागि पार्टीको केन्द्रीय समिति बैठक डाकिएको भन्दै बैठकबाट निर्णय गर्ने उनको भनाई छ । चुनावमा सहभागी भए राप्रपा नै पहिलो दल हुने उनको दाबी छ । ‘यही अवस्थामा चुनाव भयो भने र हामीले राम्रो मेहनत गर्यौं भने राप्रपा नेपालको पहिलो पार्टी बन्छ,’ उनले भने- ‘मेहनत गर्नुपर्यो, ठिक उम्मेदवार उठाउनुपर्यो । आफ्नै पार्टीलाई भोट हाल्नुपर्यो ।’

    पार्टीको पदमै रहेकाहरुले समेत राप्रपालाई मत नदिएको उनको आरोप छ । अहिले गाउँमा गणतन्त्रवादी दलहरुलाई जनताले अस्विकार गरेको अवस्थामा राप्रपा प्रमुख हुने लिङ्देनले सुनाए । ‘अहिले कांग्रेस, एमाले, माओवादीले गाउँमा मुख देखाउन नसक्ने अवस्था छ । गाउँ गाउँका मानिसहरू कांग्रेस, एमाले, माओवादी छोडिराखेका छन्,’ उनले भने- ‘अहिले जोडिने ठाउँ नै राप्रपामा छ । अनि राप्रपाले कसरी जित्छ भन्ने ?’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar