जेनजी आन्दोलनका नाममा गलत घुसपैठ– उद्योग, व्यवसायमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न महासंघको प्रहरीसमक्ष आग्रह

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठका कारण उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीका घटनामा संलग्नहरुलाई तत्काल कानुनी कारबाही गर्न तथा पीडित व्यवसायीले दिएको जाहेरी दर्ता गर्न नेपाल प्रहरीसँग आग्रह गरेको छ।

    महासंघका पदाधिकारीहरूको टोलीले आइतबार नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई भेट गरी सो माग औपचारिक रूपमा राखेको हो।

    महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले घटनामा संलग्नलाई कारबाही नगर्ने हो भने समाजमा दण्डहीनता मौलाउने र व्यवसायी हतोत्साही हुने भन्दै आइजिपी कार्कीको गम्भीर ध्यानाकर्षण गराएको छ। ढकालले आन्दोलनपछि निजी क्षेत्रको मनोबल कमजोर बनेको र देशको आर्थिक गतिविधिमै नकारात्मक असर पर्न थालेको बताए।

    “जेनजी आन्दोलनमा उठेका सुशासन र पारदर्शिताका एजेन्डा त हामीले वर्षौंदेखि उठाउँदै आएका मुद्दाहरू नै हुन्। तर पछिल्लो घुसपैठका कारण निजी उद्योग–व्यवसायमा ठूलो क्षति पुगेको छ,” उनले भने। “औद्योगिक सुरक्षाका लागि कानुनी राज्यको प्रत्याभूति अपरिहार्य बनेको छ।”

    ढकालले दोषीमाथि जाहेरी दर्ता गर्न ढिलाइ र कारबाहीका प्रक्रियामा देखिएको उदासीनताले दण्डहीनता बढाएर लगानी वातावरणमा प्रतिकूल असर पार्ने चेतावनी दिए।

    त्यसैगरी, निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीको प्रमुख आधार सुरक्षा भएको बताउँदै, शान्ति–सुरक्षामा कमजोरी आए आर्थिक गतिविधि र निजी लगानी दुवै कमजोर हुने बताए। “व्यवसायीहरूले प्रमाणसहित जाहेरी दिए पनि नलिएको गुनासो आएको छ। यसले व्यवसायीमा निराशा बढेको छ,” उनले भने।

    महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले यसपटक निजी क्षेत्रमाथि योजनाबद्ध आक्रमण भएको आरोप लगाउँदै, शान्ति–सुरक्षा बिना आर्थिक स्थायित्व सम्भव नहुनेतर्फ ध्यानाकर्षण गराए।

    जवाफमा आइजिपी दानबहादुर कार्कीले शान्ति–सुरक्षा कायम गर्नु प्रहरीको पहिलो दायित्व भएको बताउँदै, आन्दोलनका क्रममा हिंसा र तोडफोडमा संलग्न जो–कसैलाई प्रमाणका आधारमा कारबाही गर्ने प्रतिबद्धता जनाए। “निजी क्षेत्र अर्थतन्त्रको प्रमुख मेरुदण्ड हो। यसको संरक्षण बिना अर्थतन्त्र चलायमान हुन सक्दैन,” उनले भने।

    आइजिपी कार्कीले सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई कानुनी दायरामा ल्याउन सबै जिल्लास्थित प्रहरी कार्यालयलाई निर्देशन दिइसकिएको जानकारी पनि दिए।

    सो भेटमा महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यसहितका पदाधिकारीहरूको सहभागिता थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar