ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा भोलि, ८ प्रतिशत नगद लाभांश प्रस्ताव

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा भोलि (कात्तिक २६ गते) बस्ने भएको छ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे सुरु हुने बैंकले जनाएको छ।

    सभामा बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    त्यसैगरी, सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गर्नेछ।

    साथै, बैंकका सहायक कम्पनीहरू — ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेड — का गत आर्थिक वर्षका वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि सभाबाट पारित गरिनेछ। साथै, चालू आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

    बैंकको प्रबन्धपत्र र नियमावलीमा व्यवसायिक उद्देश्य थप वा संशोधन गर्ने, तथा नियमनकारी निकायहरूले निर्देशन वा सुझाव दिएमा त्यसअनुरूप संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ।

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १६ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार कात्तिक १५ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar