एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • काठमाडौँ । लाखौं ग्राहकहरूबीच गतिशील बैंकिङ्ग सेवाको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

    बैंकका अनुसार ग्राहकको खाताबाट गरिएको करकट्टी विवरणलाई “आयकर ऐन, २०५८” बमोजिम नेपाल सरकारको अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘PAN Update’ विकल्पमार्फत आफ्नो प्यान अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।

    त्यसैगरी, बैंकले ग्राहकहरूले आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिकको लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको जनाएको छ। बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउन प्यान अत्यावश्यक हुन्छ।

    प्यान अद्यावधिक भएपछि सोही प्यानमा ग्राहकको करकट्टी विवरण प्रविष्ट गरिने र आयकर प्रणालीले अनुसूची १० मा स्वचालित रूपमा मिलान गर्ने भएकाले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ। यसले ग्राहकलाई प्रमाणपत्रका लागि बैंक धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने बैंकले जनाएको छ।

    बैंकले जानकारी गराउँदै भनेको छ, “ग्राहकले प्यान अद्यावधिक नगरेको कारण ई–टीडीएसमा ब्याजकर दाखिला नभएमा वा त्यसपछिका समायोजनका अवस्थामा बैंक जिम्मेवार हुनेछैन।”

    त्यससँगै बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न पनि आग्रह गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी पोर्टल (https://www.nicasiabank.com/video-kyc/) वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘My Profile’ मा गई ‘Change Email’ विकल्प छनोट गरी आफ्नो ईमेल अद्यावधिक गर्न सक्नेछन्।

    साथै, ईमेल ठेगाना अद्यावधिक गर्न चाहने ग्राहकहरूले पनि बैंकको जुनसुकै शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

    एनआईसी एशिया बैंकले यी अद्यावधिक प्रक्रियाबाट ग्राहकहरूलाई कर प्रणाली र डिजिटल सम्पर्कमा थप सहजता प्रदान हुने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar