५० हजार र ५१ हजार बराबरका पटाका बरामद — दुई छुट्टा–छुट्टै कारबाहीमा प्रहरीको सफलता

  • कालिका खवर
  • बिहिबार, अशोज ३०, २०८२
  • बारा, ३० असोज। अवैध रूपमा ओसारपसार भइरहेका प्रतिबन्धित पटाका नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय बाराले दुई छुट्टाछुट्टै कारबाही गर्दै करिब १ लाख १ हजार रुपैयाँ बराबरका पटाका बरामद गरेको छ।

    पहिलो कारबाहीमा, प्रहरी चौकी बरियारपुरबाट प्र.ब.ना.नि. सिकिन्द्र साहको कमाण्डमा खटिएको टोलीले मिति २०८२/०६/२९ गते बेलुका अं.२०:३० बजे महागढीमाई नगरपालिका–१, बारास्थित प्रहरी कार्यालय अगाडि सिम्रौनगढबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३१२९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा बसको डिकीमा रहेको सुटकेसभित्र लुकाइ–छिपाइ राखिएको १६ बन्डल प्रतिबन्धित पटाका बरामद गरेको हो। बरामद गरिएको पटाकाको मूल्य करिब रू.५०,०००/- (पचास हजार) रहेको बताइएको छ।

    त्यसैगरी, दोस्रो कारबाहीमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्र.ब.ना.नि. धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मिति २०८२/०६/२९ गते दिउँसो अं.१२:०० बजे अमलेखगंजस्थित प्रहरी कार्यालय अगाडि चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा रौतहट ईशनाथ नगरपालिका–९ बस्ने २१ वर्षीय नवल साहले रौतहटबाट चितवनतर्फ लैजाँदै गरेको ना २१ प ८४१७ नम्बरको होण्डा युनिकर्न मोटरसाइकलमा लोड गरिएको एक बोरा विभिन्न प्रकारका पटाका बरामद गरेको हो। बरामद वस्तुको मूल्य करिब रू.५१,०००/- (एकाउन्न हजार) रहेको छ।

    दुवै घटनामा बरामद गरिएका पटाका र सम्बन्धित सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

    प्रहरीका अनुसार तिहार पर्व नजिकिँदै गर्दा अवैध पटाका ओसारपसार र बिक्री वितरणमा वृद्धि हुने सम्भावना रहने भएकाले प्रहरीले निगरानी र चेकजाँचलाई अझ कडाइ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय, बाराले जनताको सुरक्षाका लागि यस्ता अवैध कार्यविरुद्ध निरन्तर अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar