जेन–जी आन्दोलनमा तनहुँमा ७८ सवारी, ३१ भौतिक संरचनामा क्षति

  • कालिका खवर
  • शुक्रबार, भदौ २७, २०८२
  • दमौली (तनहुँ), २७ भदौ । जेनजी आन्दोलनका क्रममा तनहुँमा ७८ सवारीसाधन र ३१ भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले सङ्कलन गरेको विवरणअनुसार निजी तथा सरकारी सवारीसाधन र भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले सवारीसाधन र भौतिक संरचनातर्फ पूर्ण, आंशिक र सामान्य रूपमा क्षति भएको बताउनुभयो । प्रनाउ थापाका अनुसार दुईपाङ्ग्रे ३८ सवारीसाधन पूर्ण, १० आंशिक र दुई सामान्य क्षति भएका छन् ।

    चारपाङ्ग्रे १७ पूर्ण र ११ आंशिक क्षति भएका छन् । सरकारी सवारीसाधन दुईपाङ्गेतर्फ ३४ पूर्ण, तीन आंशिक र एक सामान्य क्षति भएका छन् । निजीतर्फ चार पूर्ण, सात आंशिक र एक सामान्य क्षति भएका छन् । सरकारी सवारीसाधन चारपाङ्ग्रेतर्फ १७ पूर्ण, ११ आंशिक क्षति भएका छन् । भौतिक संरचनामा सरकारी कार्यालयतर्फ चार पूर्ण, १७ आंशिक र एक सामान्य क्षति भएका छन् भने व्यक्तिगततर्फ नौ वटा आंशिक क्षति पुगेको प्रनाउ थापाले जानकारी दिनुभयो ।

    यही भदौ २४ गतेको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, डिभिजन वन कार्यालयका भवन र सवारीसाधन तोडफोड र आगजनी गरिएको थियो । त्यसैगरी नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar