सम्पत्ति बिक्री वा फुकुवा गरिदिन स्मार्टले पठायो प्राधिकरणलाई पत्र

  • कालिका खवर
  • शुक्रबार, मंसिर २९, २०८०
  • काठमाडौं । बक्यौता तिर्न नसकेपछि खारेज भएको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले आफ्नो सम्पत्ति बिक्री गर्न वा फुकुवा गरिदिन माग गर्दै पत्र पठाएको छ ।

    स्मार्ट टेलिकमले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै सम्पत्ति लिलाम बिक्री नगर्ने भए फुकुवा गर्न माग गरेको हो ।प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले स्मार्ट टेलिकमले कानुनबमोजिम थप प्रक्रिया अघि बढाउन माग गर्दै पत्र पठाएको बताएका छन् ।

    निर्देशक पौडेलले भने, “पत्र आएको छ । प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति नियन्त्रणमा ल्याएपछि थप प्रक्रिया अनुरुप अघि बढ्न भनेर पत्रमा लेखेको छ ।”

    स्मार्ट टेलिकमले नियामक निकाय प्राधिकरणले सम्पत्ति नियन्त्रणमा लिएपनि सञ्चालन गर्न नसकी दायित्व र जिम्मेवारीबाट विमुख भएको भन्दै आलोचना गरेको छ । स्मार्ट टेलिकमले प्राधिकरणको अक्षमता र अकर्मण्यताको परिणाम कम्पनी वा कम्पनीका सञ्चालकले भोग्ने अवस्था नहुने दाबी गरेको छ ।

    नेपाल टेलिकम र एनसेललाई नवीकरण शुल्क बुझाउन राहत हुनेगरी अवधि तोकेको तर स्माटलाई भने नदिएको भन्दै भेदभाव गरेको आरोप लगाए ।

    लिलाम बिक्री नगर्ने वा गर्न असमर्थ भए प्राधिकरणले नियन्त्रणमा लिएको सम्पत्ति फुकुवा गरी प्रचलित कानुनबमोजिम सम्पत्ति र दायित्व पूरा  गर्ने जिम्मेवारी कम्पनीलाई दिन माग समेत स्मार्ट टेलिकमले गरेको छ ।

    कम्पनीले मंसिर २१ गते लेखेको पत्रमा १५ दिनभित्र तत्काल प्रचलित नियमावलीबमोजिम कम्पनीले प्रदान गर्ने दूरसञ्चार सेवालाई व्यवस्थापन समूहमार्फत सुचारु गर्न समेत आग्रह गरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति आफ्नो स्वामित्वमा ल्याएपनि सञ्चालन भने गर्न सकेको छैन । प्राधिकरणले स्मार्टको सम्पत्ति बिक्रीका लागि लिलाम प्रक्रिया पनि अघि बढाएको छैन । स्मार्टले यसअघि पनि यस्तै पत्र पठाएको प्राधिकरणका एक अधिकारीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar