१२५० किमि लामो साहसिक ‘राइड टुरिजम’ यात्रा सुरु हुँदै, मुख्य गन्तव्य डोल्पा

  • कालिका खवर
  • मङ्लबार, चैत्र १०, २०८२
  • चितवन । आन्तरिक पर्यटन तथा साहसिक मोटरसाइकल यात्रा (राइड टुरिजम) प्रवर्द्धन गर्ने उद्देश्यले हिमालयन राइडर्स चितवन ले १२५० किलोमिटर लामो विशेष यात्रा आयोजना गर्ने भएको छ। चैत ११ गते बुधबार नारायणगढ बाट सुरु हुने यो यात्रा ६ दिनसम्म सञ्चालन हुनेछ।

    चितवन उद्योग वाणिज्य संघ परिसरबाट सुरु हुने उक्त राइडको उद्घाटन भरतपुर महानगरपालिका का कार्यवाहक मेयर चित्रसेन अधिकारी ले गर्ने कार्यक्रम तय भएको छ। यात्राका क्रममा टोलीले बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशअन्तर्गत १५ जिल्लाको भ्रमण गर्ने जनाएको छ।

    यस यात्राको मुख्य गन्तव्य पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको डोल्पा जिल्ला रहेको छ। राइडका संयोजक तथा चितवन अटोमोबाइल एसोसिएसन का पूर्व अध्यक्ष अमृत जोशी का अनुसार टोलीले चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, जाजरकोट, सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम र नवलपरासी पूर्व जिल्लाको भ्रमण गर्नेछ।
    ‘हाम्रो उद्देश्य मोटरसाइकल यात्रामार्फत नेपालका सुन्दर पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नु हो,’ संयोजक जोशीले भने, ‘यसले ओझेलमा परेका गन्तव्यहरूलाई चिनाउन र सडक सुरक्षाको सन्देश फैलाउन मद्दत गर्नेछ।’

    आयोजकका अनुसार रुट निर्धारण, सुरक्षा तथा आवास व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। यसअघि हिमालयन राइडर्स चितवन ले मनाङ, ढोरपाटन, टकसेरा र सिक्लेसलगायत क्षेत्रमा १० वटा सफल राइड सम्पन्न गरिसकेको छ।

    आगामी दिनमा रारा, हुम्ला, रामारोसन तथा पूर्वका तिनजुरे, सोलु सल्लेरी र कालिन्चोकजस्ता क्षेत्रलाई पनि गन्तव्य सूचीमा राख्ने योजना रहेको छ। कार्यक्रमका सहसंयोजक तथा चितवन अटोमोबाइल एसोसिएसन का अध्यक्ष मोहन केसी ले उच्च पहाडी तथा हिमाली क्षेत्रमा ‘राइड टुरिजम’ को ब्रान्डिङ गर्न सके पर्यटक आगमन उल्लेख्य रूपमा बढ्ने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar