११ औं महाधिवेशन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ११, २०८२
  • काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ११ औं महाधिवेशनको तयारीमा रहेको एमालेले यही कात्तिक १५ गते बस्नेगरी बैठक बोलाएको हो । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ ।

    असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको ११ औं महाधिवेशन पोखरामा मंसिर २७–२९ मा गर्ने निर्णय गरिसकेको छ ।

    पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार कात्तिक १५ गते पार्टीको सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ ।

    बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय लगायतका बारेमा निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन् । उनका अनुसार बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्नेछ ।

    पार्टीको गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेको छ ।

    भदौ २४ गतेको विध्वंसमा च्यासलस्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यलय सुरु गरिएको छ । कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रीत काम पनि सुरु गरिएको डा. अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar