वीरगंजमा ‘वास्तु विहार’ आवासीय परियोजना, २०० घर निर्माणको तयारी

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • वीरगंज – वीरगंज महानगरपालिका–१५ लक्षुमनामा ‘वास्तु विहार’ आवासीय परियोजनाको निर्माण कार्य अघि बढिरहेको छ। भारतमा सन् २००२ देखि आवास निर्माण क्षेत्रमा काम गर्दै आएको टेक्नोकल्चरले नेपाल सरकारको उद्योग विभागबाट स्वीकृति लिएर वीरगंजमा कार्यालय स्थापना गरी परियोजना सञ्चालन गरिरहेको जनाएको छ।

    कम्पनीका अनुसार परियोजनाअन्तर्गत वीरगंजमा करिब २०० वटा व्यवस्थित आवासीय घर निर्माण गर्ने लक्ष्य राखिएको छ। हालसम्म ४२ जनाले घर खरिदका लागि अग्रिम रकम बुझाइसकेको कम्पनीले जनाएको छ।

    एकैपटक ठूलो रकम लगानी गर्न कठिन हुने ग्राहकलाई लक्षित गर्दै कम्पनीले चरणबद्ध भुक्तानी र निर्माणको व्यवस्था गरेको जनाएको छ। ग्राहकले जग्गा खरिदका लागि कुल रकमको ३० देखि ४० प्रतिशत भुक्तानी गरेपछि जग्गा पास गर्ने व्यवस्था रहेको कम्पनीको भनाइ छ।

    जग्गा पास भएपछि नक्सा पासलगायत आवश्यक प्रक्रियामा कम्पनीले सहजीकरण गर्ने र सम्झौताअनुसार घर निर्माण अघि बढाउने जनाएको छ। घर निर्माणको प्रगतिअनुसार ग्राहकले चरणबद्ध रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था रहने कम्पनीले जनाएको छ।

    टेक्नोकल्चरका अनुसार भारतमा हालसम्म करिब ३६ हजार घर निर्माण गरी ग्राहकलाई हस्तान्तरण गरिसकिएको छ। भारतमा हासिल गरेको अनुभवलाई वीरगंजमा समेत प्रयोग गर्दै व्यवस्थित तथा पहुँचयोग्य आवास निर्माण गर्ने कम्पनीको लक्ष्य रहेको जनाएको छ।

    परियोजनाका नेपाल प्रमुख शशि कुमारका अनुसार ‘वास्तु विहार’ले आवास निर्माणसँगै ग्राहकलाई आवश्यक प्रशासनिक तथा अन्य प्रक्रियामा समेत सहजीकरण गर्नेछ। उनका अनुसार अभिनेता राजेश हमाललाई परियोजनाको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध गरिएको छ।

    वीरगंजमा व्यवस्थित आवासको माग बढिरहेको अवस्थामा ‘वास्तु विहार’ परियोजनाले आवास निर्माणको क्षेत्रमा नयाँ विकल्प प्रस्तुत गर्ने कम्पनीको दाबी छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar