वडा नं. २० मा निःशुल्क आँखा शिविर, करिब ४०० जनाले लिए सेवा

  • कालिका खवर
  • बुधबार, अशोज ७, २०८३
  • वीरगञ्ज । तिलगंगा सामुदायिक आँखा अस्पताल हेटौँडासँगको सहकार्यमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २० ले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट करिब ४०० जनाले सेवा लिएका छन्।

    वडा कार्यालय परिसरमा आयोजित शिविरमा आँखासम्बन्धी विभिन्न समस्या भएका स्थानीय नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। विशेषगरी वृद्धवृद्धा, आर्थिक रूपमा कमजोर तथा उपचारका लागि खर्च जुटाउन कठिनाइ भएका नागरिकका लागि शिविर निकै उपयोगी बनेको छ।

    शिविरमा परीक्षणका क्रममा शल्यक्रिया आवश्यक देखिएका बिरामीको शल्यक्रियासहित सम्पूर्ण उपचार खर्चसमेत सम्बन्धित कार्यक्रममार्फत बेहोर्ने व्यवस्था गरिएको जनाइएको छ। बिरामीले आफ्नो तर्फबाट कुनै खर्च गर्न नपर्ने तथा शल्यक्रियाका लागि अस्पतालले नै बिरामीलाई सम्बन्धित स्थानबाट लैजाने र उपचारपछि पुनः घरसम्म पुर्‍याउने व्यवस्था मिलाउने बताइएको छ।

    तिलगंगा सामुदायिक आँखा अस्पताल हेटौँडाबाट ६ जना चिकित्सकसहितको विशेषज्ञ टोली शिविरमा सहभागी भएको थियो। स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट आँखा परीक्षण तथा उपचारको अवसर पाएपछि सेवाग्राहीहरूले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

    कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का कार्यवाहक वडाध्यक्ष प्रधुमन यादवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा सचिव, वडा कार्यालयका कर्मचारीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

    आँखा उपचारजस्तो संवेदनशील स्वास्थ्य सेवामा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई ध्यानमा राख्दै आयोजना गरिएको यस प्रकारको शिविरले स्थानीय नागरिकलाई प्रत्यक्ष राहत पुर्‍याएको छ। विशेषगरी ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा विपन्न परिवारका नागरिकका लागि निःशुल्क परीक्षणदेखि आवश्यक शल्यक्रियासम्मको व्यवस्था हुनु स्थानीय तहबाट नागरिकको स्वास्थ्यप्रति देखाइएको जिम्मेवार र मानवीय पहलका रूपमा लिइएको छ।

    वडा कार्यालयमै विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध गराउँदै आवश्यक परेका बिरामीलाई थप उपचार तथा शल्यक्रियाका लागि समेत सहजीकरण गरिनुले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar