उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

  • कालिका खवर
  • बुधबार, साउन ६, २०८३
  • मोरङ । मोरङको उर्लाबारीस्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका वडा नम्बर २ मा रहेको उक्त वन क्षेत्रबाट एक थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थहरू बरामद गरिएको हो।

    मंगलबार राति करिब ९:०० बजेको समयमा सुनझोडा सामुदायिक वनमा चोरी सिकारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले वन क्षेत्रमा गस्ती गर्ने क्रममा जङ्गलभित्र बेवारिसे अवस्थामा रातो प्लास्टिकको बोराभित्र लुकाई छिपाई राखिएको अवस्थामा भरुवा बन्दुक १ थान र त्यसमा प्रयोग हुने विभिन्न विस्फोटक पदार्थहरू फेला पारेको हो।

    बरामद गरिएका सम्पूर्ण हातहतियार तथा विस्फोटक पदार्थहरू इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याइएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar