तीन पुस्ते छानबिन आयोग गठन गर्न डा. अबुल हुसेन अन्सारीको माग

  • कालिका खवर
  • शनिबार, साउन १६, २०८३
  • काठमाडौं । डा. अबुल हुसेन अन्सारीले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई सम्बोधन गर्दै कानुनी शासन, पारदर्शिता र राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन उच्चस्तरीय तीन पुस्ते छानबिन आयोग गठन गर्न आग्रह गर्नुभएको छ।

    सार्वजनिक अपिलमार्फत उहाँले छानबिनको सुरुआत आफ्नै तीन पुस्ताबाट गर्न र त्यसपछि सरकार, मन्त्री, जनप्रतिनिधि तथा सम्बन्धित सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गर्न आग्रह गर्नुभएको छ। सत्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्नुपर्ने उहाँको भनाइ छ।

    डा. अन्सारीले देशमा धार्मिक वा साम्प्रदायिक तनावका घटनामा प्रमाणबिनै कुनै समुदायलाई दोष लगाउने प्रवृत्ति अन्त्य हुनुपर्ने उल्लेख गर्दै सरकारले प्रमाणका आधारमा अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताउनुभएको छ। निर्दोष नागरिक वा कुनै पनि समुदायलाई प्रमाणबिनै दोषी नठहर्याउन उहाँले आग्रह गर्नुभएको छ।

    उहाँले सरकारले अवैध रूपमा नेपालमा बसोबास गरिरहेका व्यक्तिको निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने, कानुनी रूपमा बसोबास गर्ने र अवैध रूपमा बस्ने व्यक्तिबीचको तथ्य सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
    त्यसैगरी, विगतका सरकारले गैरनेपाली नागरिकलाई कति नागरिकता वितरण गरेका छन् र नेपालमा कति रोहिङ्ग्या शरणार्थी प्रवेश गरेका छन् भन्ने आधिकारिक विवरण सार्वजनिक गर्न उहाँले माग गर्नुभएको छ। विगतका निर्णय र कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै आवश्यक व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ।

    डा. अन्सारीले देशलाई भ्रम, अफवाह, राजनीतिक स्वार्थ र धार्मिक विभाजनभन्दा माथि उठाएर सत्य, कानुनी शासन, राष्ट्रिय एकता र सामाजिक सद्भावतर्फ लैजान सरकारसँग आग्रह गर्नुभएको छ। दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्ने तर प्रमाणबिनै कुनै समुदायलाई दोषारोपण गर्न नहुने उहाँको भनाइ छ।

    उहाँले देश बचाउने आधार आरोप–प्रत्यारोप नभई निष्पक्ष छानबिन, कानुनी शासन र पारदर्शी निर्णय भएको उल्लेख गर्दै जनताले अब भाषणभन्दा कामको परिणाम हेर्न चाहेको बताउनुभएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar