संवैधानिक प्रावधानलाई एमालेले मजाक बनायो, नगरपालिकालाई लुट्ने उद्देश्यले मेयरसहितका जनप्रतिनिधिलाई पदमुक्त गरायो : प्रभु साह

  • कालिका खवर
  • शनिबार, साउन १६, २०८३
  • काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) ले लोकतन्त्रलाई मजाक बनाउने काम गरेको भन्दै आलोचना गरेका छन् । अत्यधिक मतले निर्वाचित मेयरसहितका जनप्रतिनिधिलाई पदमुक्त गराएको भन्दै अध्यक्ष साहले एमालेले सामान्य लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न नसकेको र लोकतन्त्रलाई नै मजाक बनाउने काम गरेको भनेर आलोचना गरेका हुन् ।

    एमालेले देवाही–गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुलाई पदमुक्त गराएपछि साहले एमालेले लोकतन्त्रको अपमान गरेको भन्दै आलोचना गरेका हुन् । अर्को दलबाट निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर लगायतका मेयरहरुलाई आफ्नो पार्टीमा प्रवेश गराएको एमालेले मेयर कानूलाई बिनाकारण र असंवैधानिक तवरले पदमुक्त गराउनु लज्जाको विषय भएको साहको भनाई छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले नै जसपाबाट निर्वाचित वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह लगायतका मेयरहरुलाई आफ्नो दलमा भित्र्याएको स्मरण गराउँदै साहले दल त्याग नै नगरेका प्रेमलाल साह कानूलाई पदमुक्त गर्नु हाँस्यास्पद भएको र एमालेले आफ्नो मुखमा आँफै हिलो छ्याप्ने काम गरेको टिप्पणी गरे ।

    स्थानीय चुनावमा अत्यधिक मतले विजयी भएका देवाही गोनाहीका मेयर साहसहितका जनप्रतिनिधिलाई एमालेले अनैतिक ढंगले संविधान र कानूनविपरित पदमुक्त गरेको भन्दै अध्यक्ष साहले एमालेलाई नैतिकताको ख्याल गर्न सुझाएका हुन् । उनले भनेका छन्,“अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई दिनदिनै एमालेमा प्रवेश गराउँदै आएको एमाले नेतृत्वले कुन नैतिकताले देवाही गोनाहीका नगरप्रमुखलाई पदुमक्त गरेको होला ? वीरगञ्ज महानगरपालिकालगायत देशका दर्जनौं मेयरलाई केपी ओलीले टिका लगाएको कुरा यहाँ सम्झिन जरुरी छ । संविधान र कानूनमै नभएको प्रावधानलाई पावरको बलमा जबरजस्ती नगरपालिकालाई लुट्ने उद्देश्यबाट मेयरलाई हटाएको हो ।”

    पूर्वमन्त्री साहले मेयर साहले केपी ओलीको बलमा नभएर आफ्नो बलमा चुनाव जितेको पनि दाबी गरेका छन् । उनले एमाले नेतृत्वलाई प्रेमलालले एमालेको भोटले चुनाव नजितेको स्मरण गराउँदै जितेको भए भर्खरै सम्पन्न भएको निर्वाचनमा सो नगरपालिकामा एमालेले जम्मा पाँच सय मत ल्याएको पनि तथ्यांक पेश गरेका छन् । उनले एमाले नेतृत्वलाई लोकतन्त्रविरोधी र षड्यन्त्रकारीको संज्ञा दिएका छन् ।

    संविधानमा स्थानीय तहका पदाधिकारीको पद रिक्त हुने अवस्था राजीनामा, मृत्यु वा पदावधि सकिएमात्र भनेर उल्लेख गरिएको छ । संविधानको धारा २१६ को उपधारा ८ मा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको पद निजले राजीनामा दिएमा, मृत्यु भएमा र पदावधि सकिएमा रिक्त हुने प्रष्ट व्यवस्था छ । तर, एमालेले नगरपालिकामा अत्यधिक मतले निर्वाचित मेयरलाई बिनाकारण पदमुक्त गराएको भन्दै साहले असन्तुष्टि पोखेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar