शान्ति स्थापनार्थ साउथ सुडान जाने १३औं डफ्फाको बिदाइ

  • कालिका खवर
  • बुधबार, साउन २०, २०८३
  • काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ सञ्चालन हुने युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (UNMISS) अन्तर्गत नेपाल फर्म्ड पुलिस युनिट (FPU) का रूपमा खटिन जाने १३औँ डफ्फालाई सशस्त्र प्रहरी बल, नेपालले बुधबार बिदाइ गरेको छ।

    सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै शान्ति मिसनमा खटिने प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले संगठन, राष्ट्र र सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व गर्ने भएकाले उच्च व्यावसायिकता र अनुशासनका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

    उनले विश्वमा भू–राजनीतिक प्रतिस्पर्धा, आतंकवाद तथा साइबर सुरक्षाजस्ता चुनौती बढिरहेका बेला शान्ति मिसनमा सहभागी हुने अवसर नेपालका लागि गौरवको विषय भएको बताए। साथै, दक्षिण सुडानको संवेदनशील सुरक्षा अवस्था, सांस्कृतिक विविधता र सीमित स्रोतसाधनबीच समन्वय, आपसी विश्वास र सामूहिक भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए।

    महानिरीक्षक पौडेलले यौन शोषण तथा दुव्र्यवहारप्रति शून्य सहनशीलताको नीति अपनाउन, मानवअधिकारको पूर्ण सम्मान गर्न तथा अनुशासनमा कुनै सम्झौता नगर्न निर्देशन दिए। उनले कुनै एक व्यक्तिको गल्तीले सम्पूर्ण मिशन र नेपालको अन्तर्राष्ट्रिय छविमा असर पर्न सक्ने भएकाले सबैलाई जिम्मेवार भएर कार्य गर्न आग्रह गरे।

    त्यसैगरी उनले आर्थिक पारदर्शिता कायम राख्दै बजेटको प्रभावकारी उपयोग, मर्मतसम्भार तथा सामग्री व्यवस्थापनमा इमान्दारिता अपनाउन पनि निर्देशन दिए। मिशन अवधिमा कर्मचारीका परिवारमा आइपर्ने समस्याको समाधानका लागि संगठन सदैव साथ रहने विश्वास पनि उनले व्यक्त गरे।

    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू बंशीराज दाहाल, गणेशबहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेलले पनि टोलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

    सशस्त्र प्रहरी बल नेपालले सन् २००३ मा पहिलो पटक लाइबेरियाबाट संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागिता जनाएको थियो। हाल दक्षिण सुडानको जुवास्थित मिसनमा १६० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन्।

    यसपटक सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तको नेतृत्वमा १६० सदस्यीय १३औँ डफ्फा साउन २१ गते दक्षिण सुडानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar