सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • कालिका खवर
  • बुधबार, असार १७, २०८३
  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय गर्न आवश्यक प्रक्रिया अघि बढाएको जनाएको हो ।

    नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा घटाएसँगै यात्रुवाहक सवारीको सञ्चालन लागतमा कमी आउने भएकाले भाडा समायोजनको तयारी गरिएको हो। यातायात व्यवस्था विभागले इन्धनको मूल्य, मर्मत खर्च, लुब्रिकेन्ट तथा अन्य सञ्चालन लागतको विश्लेषण गर्दै नयाँ दर तय गर्ने गृहकार्य गरिरहेको छ।

    यसअघि इन्धन महँगिँदा वैज्ञानिक गणनाअनुसार बढी भाडा बढाउनुपर्ने अवस्था रहे पनि सरकारले सीमित प्रतिशत मात्र वृद्धि गरेको थियो। अहिले भने इन्धनको मूल्य घटेकाले यात्रुलाई राहत पुग्ने गरी भाडा घटाउने विषयमा छलफल भइरहेको विभाग स्रोतले जनाएको छ।

    यद्यपि, प्रारम्भिक छलफलअनुसार यात्रुवाहक सार्वजनिक सवारीको भाडामा समायोजन हुने सम्भावना रहे पनि मालवाहक सवारीको ढुवानी शुल्कमा भने तत्काल ठूलो परिवर्तन नहुने संकेत गरिएको छ। नयाँ भाडादर सम्बन्धी औपचारिक निर्णय विभागले आवश्यक अध्ययन पूरा गरेपछि सार्वजनिक गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar