साझा मानवीय मूल्यको माध्यमबाट एसिया क्षेत्रलाई शान्त र एकताबद्ध बनाउन सकिन्छ : आनन्द पोखरेल

  • कालिका खवर
  • आइतवार, अशोज २६, २०८२
  • काठमाडौं, २६ असोज । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री आनन्द पोखरेलले व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र साझा मानवीय मूल्यहरूको माध्यमबाट एसिया क्षेत्रलाई सम्पन्न, शान्त र एकताबद्ध बनाउन सकिने बताएका छन् । माल्दिभ्सको मालेमा आयोजित “दोस्रो मानव समरसता सम्मेलन तथा पुरस्कार समारोह”लाई शनिबार सम्बोधन गर्दै उनले यो अभियानले व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र साझा मानवीय मूल्यहरूको माध्यमबाट यस क्षेत्रका देशहरूलाई जोड्ने उल्लेख गरे ।

    पूर्व मन्त्री पोखरेलले विश्व तीव्र गतिमा परिवर्तन भइरहेको र नयाँ प्रविधि, विश्वव्यापी चुनौती र पारस्परिक निर्भरता बढ्दो क्रममा रहेको बताउँदै यस्तो समयमा यो अभियान दिगो विकासको आधार भएको धारणा व्यक्त गरेका उनको सचिवालयले जनाएको छ । उनले भने, “नेपाल हिमालयको देश र शान्तिका दूत भगवान बुद्धको जन्मभूमि हो, हामी सधैं शान्ति, सहिष्णुता र सहकार्यमा विश्वास गर्छौ । समरसता सांस्कृतिक र आध्यात्मिक पहिचान यस क्षेत्रको अभिन्न अङ्ग भएकाले सहअस्तित्वको भावना प्रत्येक एशियाली राष्ट्रले महसुस गर्न सक्छ ।”

    नेता पोखरेलले सहकार्यको संस्कृतिले व्यापार, सम्पर्क र सांस्कृतिक आदानप्रदानमार्फत समृद्धि आउने धारणा व्यक्त गर्दै सबैले राजनीतिक विभाजनभन्दा माथि उठ्नुपर्ने र जनतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शान्ति र समझदारीका लागि प्रतिबद्ध व्यक्ति, संस्था र सरकारहरूलाई जोड्ने स्थायी मञ्चका रूपमा मानव सञ्जाल स्थापना गर्नुपर्नेमा उनको जोड थियो ।

    युवालाई सशक्त बनाई शिक्षा, सांस्कृतिक आदानप्रदान र स्वयंसेवा कार्यक्रममार्फत सहिष्णुता र सम्मानका मूल्यहरू जगाउनेपर्ने उनको धारणा थियो । पूर्व मन्त्री पोखरेलले नेपालको तर्फबाट ती लक्ष्यहरू प्रतिको दृढ प्रतिबद्धता व्यक्त गर्दै सबैसँग मित्रता, इमानदारी र साझा उद्देश्यका साथ काम गर्न तयार रहेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar