राष्ट्रपति रनिङ सिल्ड सुरु , अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • गोदावरी (चापागाउँ)– १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । अविनाश सुनार र भगवती खड्काले प्रतियोगितामा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।अविनाशले छात्र हाइजम्प तथा भगवतीले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान रचेका हुन् । दुवै बागमती प्रदेशका हुन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अविनाशले १.८६ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको १.८२ मिटरको कीर्तिमान सुधार गरे । १.८२ को कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बनाएका थिए । कोशी प्रदेशका टंक यादव दोश्रो र गण्डकी प्रदेशका सनुन चौधरी तेश्रो भए ।
    छात्रा ४ सय मिटर दौडमा भगवतीले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । यसअघि १ मिनेट ०१.१९ सेकेन्डको कीर्तिमान सुदूरपश्चिम प्रदेशकी संगीता विकको नाममा थियो । फाइनलमा भने भगवतीले निर्धारित दूरी ५९.११ सेकेन्डमा तय गर्दै स्वर्ण जितिन् । बागमतीकै अनिशा थारु दोश्रो तथा लुम्बिनी प्रदेशकी रोशनी कामी तेस्रा बने । उक्त स्पर्धाको छात्रमा बागमतीका निरज शाह पहिलो भए । उनले निर्धारित दूरी ५०.९४ सेकेन्डमा पार गरे । गण्डकीका अतित थापा दोश्रो तथा गण्डकीकै अंकित रानाभाट तेश्रो भए ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र १ सय मिटर दौडमा बागमतीका प्रविन रानाले स्वर्ण जिते । उनले दूरी तय गर्न १०.४६ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका सुरेश चौधरीले रजत तथा लुम्बिनीका भगवानदास लोहारले कांस्य जिते । त्यसै स्पर्धाको छात्रामा लुम्बिनीकी गरिमा चौधरी १३.५० सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । लुम्बिनीकै आशिका चौधरी दोश्रो तथा बागमतीकी सुरुची मोक्तान तेश्रो भए ।
    छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट १३.७ सेकेन्डमा पूरा गर्दै बागमतीका हस्त सुनार पहिलो भए । लुम्बिनीका अरविन्द्रकुमार यादव दोश्रो तथा कर्णालीका अनिल शाही तेश्रो बने । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी अस्मिता धानुक पहिलो भइन् । अस्मिताले दौड पूरा गर्न ५ मिनेट १३.९ सेकेन्ड समय लगाइन् । लुम्बिनीकी अञ्जुली मल्ल दोश्रो तथा बागमतीकी शर्मिला विक तेश्रो भए ।
    सटपुटको छात्रमा बागमतीका महेन्द्र केसी प्रथम भए । उनले १३.४० मिटर थ्रो गरे । लुम्बिनीका राजन भण्डारी द्वितीय तथा कर्णालीका अनन्त विक तृतीय स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा ९.६० मिटर थ्रो गरेकी सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन् । बागमतीका मनमाया थिङ दोश्रो तथा अप्सरा श्रेष्ठ तेश्रो भए

    राष्ट्रपतिबाट ओलम्पिक टर्च प्रज्ज्वलन गरी उद्घाटन
    बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पिक टर्च प्रज्ज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्। त्यसपछि राष्ट्रपति पौडेलले उक्त टर्च ओलम्पियन ब्याडमिन्टनका प्रिन्स दाहाललाई हस्तान्तरण गरेका थिए । प्रिन्ससहित ओलम्पियन एथलेटिक्सकी सरस्वती भट्टराई, ओलम्पियन भारोत्तोलनका कमलबहादुर अधिकारी र ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पालैपालो टर्चलाई ट्रयाकमा परिक्रमा गराएका थिए ।


    शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले विद्यालय तहदेखि नै खेलकुदको जग बलियो बनाउने उदेश्यबाट प्रतियोगिता सन्चालन हुदै आएको बताउदै विद्यालय स्तरमा लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बनाउने सबैभन्दा ठूलो र महत्वपूर्ण माध्यम राष्ट्रपति रनिङ सिल्ड भएको बताए ।

    ६ खेलमा ६ सय ८६ खेलाडी सहभागी
    राखेपको आयोजनामा सुरु प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६ खेलाडी सहभागी छन् । विभिन्न ६ खेल समावेश प्रतियोगितामा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा समान २–२ तथा कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्पर्धा समावेश छन् ।
    प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद्, बागमती, नेपालय इन्टरनेसनल प्रा.लि. र केआईइसीको सहयोग रहेको छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।
    प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा फागुन १९ देखि २२ गतेसम्म हुने भएको छ । राष्ट्रपति पौडेलले प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव विप्लव घोषलाई झण्डा हस्तान्तरण गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar