पर्सा – २ का रास्वपा उम्मेदवार कानुलाई प्रदेशसभा सदस्य पदका प्रत्याशी लामाले जनाए समर्थन

  • कालिका खवर
  • सोमवार, फाल्गुन ११, २०८२
  • वीरगञ्ज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुलाई समर्थन जनाउँदै प्रदेशसभा सदस्य पदका पूर्व स्वतन्त्र उम्मेदवार स्याङबो (विनोद) लामा तामाङसहितको टोलीले रास्वपामा प्रवेश गरेको छ ।
    सोमबार पर्सागढी नगरपालिका–३ झाबराहमा आयोजित विशेष कार्यक्रमबिच लामा सहितको टोलीले पार्टी प्रवेश गर्दै कानुलाई पूर्ण समर्थन जनाएको हो ।

    २०७९ को प्रदेशसभा निर्वाचनमा पर्सा २ (१) बाट ‘फुटबल खेलाडी’ चिन्हमा स्वतन्त्र उम्मेदवारी दिएका लामाले १२८८ मत प्राप्त गरेका थिए । स्थानीय स्तरमा राम्रो पकड रहेका लामाको प्रवेशले कानुको पर्सा–२ मा जनसमर्थन थप बलियो भएको स्थानीयहरूको भनाइ छ ।

    कार्यक्रममा बोल्दै नवप्रवेशी लामाले परम्परागत र पुराना दलहरूबाट देश र जनताको जीवनमा कुनै परिवर्तन आउने सम्भावना नदेखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैकल्पिक शक्तिको रूपमा पहिचान गर्दै आफूसहितको टोलीले पार्टी प्रवेश गरेको बताए ।

    त्यस्तै उनले पर्सा – २ को नेतृत्व अब युवाको हातमा सुम्पिनु पर्ने बताउँदै सुशील कुमार कानुलाई जिताउन आफूले उनलाई समर्थन गरेको बताए । “पर्सा–२ को नेतृत्व गर्दै यहाँका समस्याहरू समाधान गर्न सक्ने क्षमता सुशील कुमार कानुमा छ । यस क्षेत्रबाट पटक–पटक निर्वाचित भएकाहरूले हामीलाई आश्वासनबाहेक केही दिएनन् । अब रास्वपा र कानुबाट मात्र यस क्षेत्रको विकास सम्भव छ,” उनले भने ।

    नवप्रवेशी लामालाई स्वागत गर्दै रास्वपाका प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले लामाको प्रवेशले पर्सा–२ मा रास्वपाको जित सुनिश्चित भएको बताए । उनले अन्य दलका नेता तथा कार्यकर्ताहरूलाई पनि पुरानो दलको झन्डा त्यागेर रास्वपाको छातामुनि आएर परिवर्तनको अभियानमा सहभागी हुन आग्रह गरे ।

    कानुले निर्वाचनपछि बन्ने बालेन शाह नेतृत्वको सरकारबाट पर्सा–२ का लागि विकास, समृद्धि, रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षामा सुधार, खेलकुद पूर्वाधार विकास तथा भौतिक पूर्वाधार निर्माणका लागि विशेष प्याकेज ल्याउने प्रतिबद्धता जनाए । उनले पर्सागढीको ऐतिहासिक तथा पर्यटकीय महत्त्वलाई उजागर गर्दै पर्यटन व्यवसायलाई प्रोत्साहन दिने आफ्नो योजना रहेको पनि सुनाए ।

    कार्यक्रममा स्थानीय रास्वपा नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar